गच्छदारको फोरम अर्को टुक्रा हुँदै, १० केन्द्रीय सदस्यले आजै छाडे
जेठ २८ – मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक अब लगभग फुट्ने अवस्थामा पुगेको छ ।
फोरमका १० जना केन्द्रीय सदस्यहरुले आजै संयुक्त रुपमा राजीनामा ठोकेका छन् ।
पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई अवैधानिक तरिकाले साधारण सदस्यसमेत नरहने गरी हटाइए पछि पार्टी फुटको संघार नजिक पुगेको हो । त्यस्तै १० केन्द्रीय सदस्यले पनि यही विषयमा नेतृत्वप्रति नसन्तुष्टी जनाउदै सामूहिकरुपमा पार्टी कार्यालयमा गई राजीनामा दर्ता गराएका हुन् ।
आजै पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्ट पक्षले पार्टी अध्यक्ष विजयकुमार गच्छदारले एकलौटी ढङ्गले पार्टी सञ्चालन गरेको, स्वेच्छाचारी ढङ्गले फरक विचार राख्नेहरुलाई पार्टी निर्णयमा सहभागी नगराएको भन्दै राजीनामा गरेका बताएका छन् ।
यसरी राजीनामा गर्ने केन्द्रीय सदस्यहरुमा ओमप्रकाश यादव, कौशलकुमार यादव, निलम बर्मा, प्रमोद गुप्ता, रामानन्द मण्डल, शिवजीप्रसाद सोनी, अमृता अग्रहरी, अमिरुल्लाह अन्सारी, पारस साह र सेवकीदेवी तत्मा रहेका छन् ।
पत्रकार सम्मेलनमा रामानन्द मण्डलले पार्टीका अध्यक्ष गच्छदार अलोकतान्त्रिक, परिवारवाद र मधेसविरोधी भएको आरोप लगाउँदै आफूहरुले भण्डारीको नेतृत्वमा छिट्टै नयाँ पार्टी गठन गर्ने जानकारी समेत दिए ।
Watch Video
प्रकाशित मिति:
June 10, 2012