प्रचण्ड र बाबुराम गुटका कारण सबै जनवर्गिय संगठनको सम्मेलन स्थागित
भदौ २९ - एकीकृत नेकपा माओवादीभित्र प्रचण्ड र बाबुराम गुटको विवादका कारण सबै जनवर्गीय संगठनको सम्मेलन रोकिन पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद चर्कँदै गएपछि एमाओवादी प्रवक्ता अग्नि सापकोटाले आज एक प्रेस विज्ञप्ती जारी गरेर सबै जनवर्गिय संगठनहरुको सम्मेलन स्थागित भएको जानकारी गराएका छन् ।
उक्त प्रेस विज्ञप्तिमा सम्मेलनको अर्को मिति जनवर्गीय संगठनका फ्याक्सन इञ्चार्ज र सम्बन्धित संगठनका पदाधिकारीहरुसँग सल्लाह गरेर तोकिने उल्लेख गरिएको छ ।
पार्टीले आफ्ना सबै संगठनको सम्मेलन मंसिरभित्रै सकाउने भनिएपनि गुटउपगुटका कारण अर्को व्यवस्था नहुन्जेलसम्म सबै जनवर्गीय संगठनको सम्मेलन स्थगित हुन पुगेको हो ।
प्रचण्ड र भट्टराई पक्षका नेताको विवादले अखिल नेपाल होटल तथा रेस्टुराँ संगठनमा तनाव रहँदै आएको छ ।
माओवादीले यसअघि मङ्सिर १५ देखि १७ गतेसम्म योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को काठमाडौँमा, मङ्सिर ९ देखि ११ गतेसम्म अखिल नेपाल शिक्षक सङ्गठनको काठमाडौँमा, मङ्सिर १६ देखि १८ गतेसम्म अखिल नेपाल जनसाँस्कृतिक महासङ्घको सम्मेलन नेपालगन्जमा गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
September 14, 2012