भदौ ३० – प्रधानमन्त्री डा बाबुराम भट्टराई स्थानीय जनताका समस्या बुझ्न आज साँझ जुम्लाको तातोपानी गाविसको राँका गाउँ पुगेका छन् ।
राँका गाउँ जुम्लाको दलितवस्ती हो । प्रधानमन्त्री भट्टराईले आज राती स्थानीय जनताका घरमा बसी उनीहरूका समस्याका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्री भट्टराई जुम्लास्थित विमानस्थलमा उत्रँदा आज अपराह्न नेकपा–माओवादी, नेपाली काँग्रेस, नेकपा (एमाले) सम्बद्ध व्यक्तिहरूले विरोध प्रदर्शन गरेका थिए ।
उनी केही समय विमानस्थलमा रहेपछि हेलिकप्टर मार्फत् सोझै राँका गाउँ पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री चढेको नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण केही समय बाँकेको कचनापुरमा आकस्मिक अवतरण गर्नुपरेको थियो ।
प्रधानमन्त्रीले प्रत्येक महिनाको अन्तिममा एक दिन जनताका घरमा बास बस्ने नियमित कार्यक्रम अन्तर्गत त्यहाँ गएको बताइएको छ ।
प्रधानमन्त्रीका साथ मुख्यसचिव लीलामणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, कृषि मन्त्रालयका सचिव गणेश जोशी, राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाह, गरिबी निवारण कोषका सदस्य महेन्द्र सापकोटालगायत सहभागी छन् ।
उनीहरु त्यहाँ राँका गाउँका मानसिंह सार्कीको घरमा बास बस्ने बताइएको छ ।