चन्दन तस्कर र प्रहरीबीच भिडन्तमा एकको मृत्यु
भदौ ३१ – रक्तचन्दन तस्कर र प्रहरीबीच आज बिहान गोली हानाहान हुँदा एकको घटनास्थलमा मृत्यु भएको छ ।
घटनास्थलबाट अन्य चार जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको फुल्पिङकट्टी गाविसअन्तर्गत सेलाङकट्टी गाउँमा आज बिहान २ बजे गाउँलाई घेराबन्दी गरी छापा मार्दा तस्करले ढुङ्गामुढा गर्नाका साथै फायरिङसमेत गरेपछि आत्मरक्षाका लागि गोली चलाउँदा एकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतापकुमार गुरुङले बताए ।
घटनास्थलबाट प्रहरी निरीक्षक सुजन राजभण्डारीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाकै हगाम गाविस –५ निवासी विवेक श्रेष्ठ हुन् । पक्राउ पर्नेमा फुल्पिङकट्टी गाविस खोकुन्डोलका बृखबहादुर श्रेष्ठ, फुल्पिङकोट–८ धुस्कोट निवासी प्रताप तामाङ, फुल्पिङकट्टी–४ हिन्दीका ३० वर्षीय संजोक भण्डारी र फुल्पिङकट्टी–९ सुनखानीका ३० वर्षीय गणेश भण्डारी छन् ।
प्रहरीका अनुसार रक्त चन्दन बोकेको बा२ख ८८६७ नम्बरको गाडी र बा ३७ प २०७५ नम्बरको मोटरसाइकल र करिब एक हजार १०० किलोको ७१ वटा रक्तचन्दनको मुढासमेत बरामद भएको छ ।
अरनिको राजमार्गको १०२ किलोमिटरमा पर्ने फुल्पिङकट्टी गाविसको हिन्दीबाट भरियालाई बोकाएर सोही गाविसको सेलाङकट्टी हुँदै रक्तचन्दन खासा लगिँदै छ भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय र सीमा प्रहरीबाट गएको टोलीले शनिबार दिउँसो निगरानी बढाएको थियो ।
चीनको सिमानामा पर्ने सो गाउँमा प्रहरीले घेराबन्दी गरी छापा मारेपछि उक्त घटना भएको प्रहरी नायब उपरीक्षक गुरुङले बताउनुभयो । रासस
प्रकाशित मिति:
September 16, 2012