असोज १ - देशैभर लगातारको वर्षाका कारण डुबान भएका घटना समेत आईरहेको अवस्थामा वर्षा अझै एक हप्ता रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर अझै करिब डेढ हप्तासम्म मनसुन सक्रिय भई वर्षा हुने पूर्वानुमान गरेको हो ।
विभागले सामान्यतया यो महिना १९९.८ मिलिमिटर हुनुपर्ने वर्षाको आजसम्मको रेकर्डअनुसार मुलुकका सबै भागमा ४१८.८ मिलिमिटर वर्षा भएको र पश्चिमी भेकमा मनसुन बढी सक्रिय रहेको पाइएको जनाएको छ ।
भारतको पश्चिम बङ्गालबाट नेपालको पूर्वी नाका मेची हुँदै मनसुन प्रवेश गरी महाकालीसम्म सक्रिय हुने र त्यसबीचमा सामान्यतया तीन महिना २० दिन वर्षा हुने जानकारी दिँदै पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको वर्षा विस्तारै पूर्वतिर आउने क्रम जारी रहेकाले अझै करिब डेढ हप्ता कायम रहने बताएका छन् ।
उनले नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्म मनसुन जारी रहने भए पनि कहिलेकाहीँ त्यो समयभन्दा केही तलमाथि पर्ने भएकाले यसपटक ढिलो गरी प्रवेश गरेको मनसुन ढिलै गरी अन्त्य हुने देखिएको र त्यसैको ण्प्रभावका कारण अहिलेसम्म पनि वर्षा जारी रहेको पाइएको हो ।