धुलिखेलको रहेको एनसेलको अर्को टावर पनि मजदुरद्वारा ध्वस्त
फागुन ६ – नेपाल स्याटलाइट टेलिकम हेलो नेपालबाट निष्काशित कर्मचारीहरुलाई पुनर्वहालीको माग गर्दै आन्दोलनरत अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघले काभ्रेको धुलिखेलमा रहेको मूख्य टावर शनिवार पूर्णतः निष्कृय बनाएको छ ।
सो टावरबाट सिन्धुपाल्चोक, काभ्रेका अधिकांश भाग, सिन्धुलीलगायत रामेछापका केही भागहरुमा टेलिफोन अवरुद्ध भएको छ । वीएजी ००५ आइडी नाम दिएको हव साइट टावर आन्दोलनकारीले शुक्रवार निष्कृय बनाएका हुन् । गत बुधबार मात्र आन्दोलनकारीले दाङस्थित हेलो नेपालका सबै टावरहरु निष्कृय बनाई सेवा अवरुद्ध गराएका थिए । पटक पटक आग्रह गर्दा पनि मागप्रति हेलो नेपाल र एनसेलको व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि कडा संघर्षमा उत्रन बाध्य भएका हुन् ।
दुवै टेलिकममा २५ प्रतिशत शेयर धनी अजय सुमार्गीले कुनै हालतमा पुनर्वहाली नगर्ने मौखिक जवाफ पठाएपछि निष्काशित कर्मचारीहरु आक्रोशित भएका छन् । अन्ततः एनसेल र हेलो नेपाल टेलिकमलाई ठप्प बनाएपछि मात्र माग सम्बोधन हुने ठहर गरी अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघले थप संघर्षका कार्यक्रम तय गरिसकेको संघले जनाएको छ ।
शुरुमा सुमार्गीमात्र मालिक रहेको हेलो नेपाल अहिले बहुराष्टिय कम्पनी टेलियासोनेराले एनसेलसहित हेलो नेपाल पनि खरिद गरेको छ । कर्मचारी निष्काशनमा टेलियासोनेराको पनि संलग्नता थियो ।
प्रकाशित मिति:
February 17, 2013