माओवादीसहित चार दलद्वारा प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउने विरुद्ध आन्दोलनको घोषणा
फागुन ४ – नेकपा–माओवादीसहित चार राजनीतिक दलले प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउने विषयप्रति आन्दोलनको घोषणा गरेका छन् ।
उनीहरुले राष्ट्रहित तथा संवैधानिक मूल्य मान्यता विपरीत मुलुकलाई निर्दलीयता र निरंकुशताको दिशातर्फ लैजान खोजेको भन्दै भन्दै संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण र जनजीविकाको सुनिश्चितताको प्रश्नलाई केन्द्रविन्दु अग्रगामी राजनैतिक दलहरुका बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको प्रक्रिया अगाडि माग गर्दै उनीहरुले संसदीय मान्यता अनुरुप पनि शक्ति पृथकीकरणको सिद्धान्त विपरीत कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई एकै ठाउँमा केन्द्रित गर्नेगरी प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया रोक्न भनेका छन् ।
उक्त निर्णय नरोकिएसम्म आन्दोलन जारी राख्ने बताउँदै उनीहरुले सम्पूर्ण देशभक्त, वामपन्थी र गणतन्त्रवादी शक्तिहरुसँग आन्दोलनका लाग अपिल समेत गरेका छन् ।
उनीहरुले फागनुन ५ गते काठमाडैँमा विरोध प्रदर्शन गर्ने र ६ गते देशभरिका प्रमुख शहरहरुमा विरोध प्रर्दशन गर्ने भएका हुन् ।
संयुक्त प्रेस वक्तव्यको पूर्णपाठ यस्तो छ:
मुलुकको विद्यमान राजनैतिक संकटको कारक बन्दै आईरहेका तीन राजनैतिक दल र मधेशी मोर्चाका शीर्ष नेताहरु यतिखेर बाह्य शक्तिकेन्द्रहरुद्वारा निर्देशित प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावमाथि केन्द्रित रहँदै सरकार गठनको पहलमा लागिरहेको घटना प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ ।
वर्तमान सरकारलाई विस्थापित गरी राजनैतिक दलहरुका बीचबाट राष्ट्रिय संयुक्त सरकारको गठन, राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण र जनजीविकाको सुनिश्चितता गर्नुपर्ने अहिलेको ऐतिहासिक कार्यभार हो ।
परन्तु यतिखेर राष्ट्रिय सार्वभौमसत्ता, नेपालको अन्तरिम संविधान र दलीय प्रतिस्पर्धात्मक प्रणाली विपरीत निर्दलीयता, निरंकुशता र राष्ट्रघातको दिशातर्फ मुलुकलाई लैजान खोजिएको छ । यसकासाथै संसदीय मान्यता अनुरुप पनि शक्ति पृथकीकरणको सिद्धान्त विपरीत कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई एकै ठाउँमा केन्द्रित गर्नेगरी प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने भनिएको छ । उक्त कदम प्रति हाम्रो गम्भीर आपत्ति र विरोध रहेको कुरा सबैमा अवगत गराउन चाहन्छौं ।
अतः यस प्रकारको राष्ट्रहित तथा संवैधानिक मूल्य मान्यता विपरीत मुलुकलाई निर्दलीयता र निरंकुशताको दिशातर्फ लैजान खोजिरहेको चार पक्षको यो कदम अविलम्ब रोकियोस् र राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण र जनजीविकाको सुनिश्चितताको प्रश्नलाई केन्द्रविन्दु अग्रगामी राजनैतिक दलहरुका बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस भन्दै सम्बन्धित सबै पक्षसँग हार्दिक आह्वान गर्दछौं । साथै यसप्रकारको राष्ट्रघाती र जनघाती कदम नरोकिँदासम्म निरन्तर आन्दोलनमा सहभागि बनिरहनकालागि हामी सम्पूर्ण देशभक्त, वामपन्थी र गणतन्त्रवादी शक्तिहरुसँग हार्दिक अपिल गर्दछौं ।
आन्दोलनको कार्यक्रमः
फागुन ५ गते – काठमाडौंमा विरोध प्रदर्शन
फागुन ६ गते – देशभरिका प्रमुख शहरहरुमा विरोध प्रदर्शन
अध्यक्ष क.किरण संयोजक क. कमल चौधरी
नेपाल कम्युनिस्ट पार्टी – माओवादी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)
संयोजक क.मातृका यादव सचिवालय सदस्य क. टीका विक्रम हमाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
मितिः २०६९/११/०४
प्रकाशित मिति:
February 15, 2013