खाना पकाउने को सहजता अझै भएन
वासुदेव पौडेल
काठमाडौँ, ७ फागुन । दुई महिनायता देखिएको खाना पकाउने ग्यासको चरम अभाव अझै उत्तिकै हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
फाट्टफुट्ट बजारमा ग्यास पाउने गरे पनि प्रचलित मूल्यभन्दा बढी तिर्नु यतिखेर सर्वसाधारणको बाध्यता बनेको छ । बजारमा ग्यासको चरम अभाव देखिएपछि नेसलन ट्रेडिङ लिमिटेडले दुई दिन आफ्नै कार्यालयबाट सर्वसाधारणलाई ग्यास वितरण गरेको थियो ।
दिनभर ग्यास लिनका लागि सर्वसाधारण लिमिटेडको परिसरमा लामबद्ध बनेका थिए । सधैँजस्तो अभाव हुन थालेपछि पछिल्लो समयमा नपाउनुभन्दा मूल्य बढी नै तिरेर भए पनि समस्या टार्नु सर्वसाधारणको बाध्यता बनेको छ । धादिङ घर भई काठमाडौँमा फलफूल तथा तरकारीको व्यापार गर्ने नरहरि सुवेदी एक महिनाभन्दा बढी समय कुरेर आफूले ग्यासको जोरजाम गरेको बताउँछन् ।
सामान्य व्यवसाय गरी राजधानीमा बस्नेका लागि त ग्यासको अभाव यतिखेर ठूलै समस्याका रुपमा देखिएको छ । मकवानपुरको फाखेल घर भई पढाइका क्रममा कलङ्की बस्दै आएका दिनेश भण्डारीको पनि उस्तै समस्या छ । लगभग डेढ महिनादेखि ग्यास नपाएर भौँतारिनु परेको समस्या सुनाउँदै उनले यसबीचमा कहिले साथीभाइ त कहिले आफन्तकहाँ खाना खान जानुपरेको दुःखेसो व्यक्त गरे ।
डेरा खोजी भाडामा बस्ने विद्यार्थीलाई मट्टितेलबाट चल्ने स्टोभ चलाउन अधिकांश घरधनीले नदिने गरेको पाइएको छ । लामो विद्युत् भार कटौतीको समस्याका कारण खाना पकाउने ग्यासको अन्य विकल्प नभएको भण्डारीको भनाइ छ । आफूजस्ता धेरै विद्यार्थी यतिखेर खाना पकाउने ग्यासको अभावले समस्यामा परेको उनले बताए ।
बजारमा देखिएको ग्यासको अभावलाई कम गराउन निगम सक्रिय भएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । “गत जनवरीअघि लगभग चार महिनासम्म आवश्यकताभन्दा निकै कम ग्यास आएका कारण त्यसको असर हालसम्म कायमै छ ।” उनले भने ।
“विगत वर्षको अनुभवका आधारमा जाडोको समयमा लगभग २३ हजार मेट्रिक टन ग्यास आवश्यक भए पनि चार पाँच महिनाको समयावधिमा १८ हजार मेट्रिक टनभन्दा कम ग्यास आएका कारण समस्या देखिएको हो”, उउनले थप प्रष्ट पारे ।
गत जनवरीमा २६ हजार मेट्रिक टन ग्यास आएको प्रवक्ता घिमिरेले जानकारी गराए । अभावको क्रमलाई अन्त्य गर्न फेब्रुअरीका लागि २९ हजार मेट्रिक टन ग्यास ल्याउन भारतीय आयल निगमसँग प्रस्ताव गरिएको उनको भनाई छ ।
हालसम्म १७ हजार मेट्रिक टन ग्यास आइसकेको र अरु आउने क्रममा रहेको घिमिरेले बताए ।
प्रकाशित मिति:
February 19, 2015