उनी एक्लै मझेरीमा टोलाईरहेका थिए
दीपकसँग प्रवक्ता भुसाल । |
काठमाडौं २० वैशाख । महाभूकम्पले आफ्नी आमा इन्द्रमाया, दाई जयराम, भाउजु मिरा र २ वर्षकी भतिजी जसमिरालाई टपक्कै टिपेर लगेपछि अन्तर्राष्ट्रिय बक्सर खेलाडी दिपक महर्जन चोटमा छन् । उनको घरमा पुग्दा उनी एक्लै मझेरीमा टोलाईरहेका थिए । नजिकै मृत आमा, दाजुभाउजु र भतिजीको फोटो राखिएको थियो ।
काठमाडौं सतुंगलस्थित चन्द्रागिरी नगरपालिका १५ बोसीगाउँमा खाना खाईरहेको बेला एकै परिवारका चार सदस्यको गत साता गएको महाभूकम्पमा परी निधन भएको हो । अभ्यासका क्रममा खुट्टा फ्याक्चर भएपछि १७ औं एसियन प्रतियोगिता छुटाएदेखि नै उनी अहिले पनि रेष्टमा छन् । भूकम्प गएको क्षण सम्झिदै उनले भने, 'म खाना खाएर घरबाहिर थिए, आमा दाजुभाउजुहरु खाना खाईरहेको बेला भूकम्प आयो घर भत्कियो उहाँहरु भाग्नै पाउनु भएन ।'
नेकपा माओवादी प्रवक्ता पम्फा भुसालले आइतबार उनी रहेको घरमा पुगेर दिपकको अवस्थाबारे जानकारी लिइन् । सो क्रममा उनले मृतप्रति समवेदना प्रकट गर्दै महाविपत् सबैलाई परेको संस्मरण गराइन् ।
सो क्रममा दिपकले आफूलाई राज्य भए नभएको महसुस नै गर्न नपाएको गुनासो समेत गरे । दीपकका अनुसार बोसीगाउँ इलाकामा टर्कीको एउटा मुस्लिम संघले त्रिपालहरु वितरण गरेको छ । त्यो बाहेक सरकारी पक्षबाट कुनै राहतको प्याकेज ती क्षेत्रका पीडितले पाएका छैनन् ।
दीपकको परिवारलाई दाह संस्कारका लागि सरकारले ४० हजार र ५ हजार नगरपालिकाले उपलब्ध गराएको छ । तर, त्यस क्षेत्रका भूकम्प पीडितहरुले बस्न त्रिपाल लगायतका कुनै पनि सरकारी प्याकेज पाउन सकेका छैनन् । एक साथीको चिनजानका भरमा टर्कीको एउटा संस्थाले मात्रै राहत उपलब्ध गराएको छ । उनले भने दाहसंस्कार खर्च बाहेक अरु त खै सरकारले केही पनि गरेको थाहा छैन ।
आमालाई भेट्न माईलो दाईको घर गएका उनी भूकम्प जाँदा घर बाहिर भएर मात्रै दुर्घटनाबाट बाँचे । दिपकका बुवा भने सँधै चाँडै खाना खाएर सुत्ने गर्दथे, महाभूकम्पको दिन भने उनले त्यो समयसम्म खाना नै खाएका थिएनन् । म त सँधै छिट्टै खाना खाएर सुत्ने गर्थे त्यो दिन भने बाहिरै रहेकाले केही भएन दीपकका बुवाले त्यो दिन सम्झिदैं भने । मृत दाजु भने सँधै छिट्टै खाना खाएर निस्कने गर्दथे तर भूकम्प आउने दिन सबै सँगै खाउ भनेर पर्खिएका थिए । दीपक महाभूकम्पलाई सम्झिदैं भन्छन्, आमालाई भेट्न दाईकोमा गएको थिए, त्यो नै अन्तिम भेट रह्यो ।
प्रकाशित मिति:
May 04, 2015