अर्को बैठकको भाकामै सकिन्छ चार दलको बैठक
काठमाडौं, जेठ । महाभूकम्पपछि प्रमुख चार राजनीतिक शक्तिको बैठक पाँचौ पटक बसेपनि आन्तरिक छलफल गरेर फेरि अर्को बैठक गर्ने सहमति गरेर सकिएको छ ।
मंगलबार बिहान बसेको चार दलको बैठकले साँझ बैठक गर्ने सहमति गरेको थियो । साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भने बुधबार आन्तरिक छलफल गर्ने र बिहीबार पुनः छलफल गरेर सहमति खोज्ने निर्णय गर्दै सकिएको छ ।
यसअघि शुक्रबार, आइतबार र सोमबार प्रधानमन्त्री निवासमा नै बसेको बैठकमा कुनै सहमति जुटेको छैन । प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापति सुशिल कोइराला, नेकपा एमाले अध्यक्ष केपी ओली, नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका तर्फबाट संयोजक विजयकुमार गच्छदार बैठकमा सहभागी बनेपनि कुनै सहमति जुटाउन सफल भएका छैनन् । बैठकका लागि बालुवाटार पुगेका कांग्रेस प्रवक्ता डिलेन्द्र बडु बैठकमा उपस्थित हुन पाएनन् । बैठकका लागि बालुवाटार गएको थिए, बाहिर कुर्दाकुर्दा गरे, भित्र शिर्ष नेता मात्रै बसेका थिए उनले सौर्यसँग भने, कसैले भित्र बोलाएनन् पनि बेखबर भइयो म त त्यसै फर्किए ।
प्रतिपक्ष दल एमाओवादी मुख्य सचेतक गिरिराजमणी पोखरेलले सत्तारुढ कांग्रेस एमालेबीचको समस्याकै कारण सहमतिमा ढिलाई भईरहेको बताए । कांग्रेस विरुद्ध एमाले र एमाले विरुद्ध कांग्रेस भएर राष्ट्रिय सहमतिको सरकार बन्न सक्दैन सचेतक पोखरेलले भने, तर अहिले सत्तारुढ कांग्रेस एमाले नै समस्या देखिएको छ । सरकारमा नै बसेर महाधिवेशन गर्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशिल कोइरालाको योजना र एमाले अध्यक्षका कतिपय अडानका कारण संविधानसभाका विवादित विषयमा पनि असर परेको उनले जानकारी दिए ।
मंगलबारको बैठकमा शिर्ष दलहरु ६ देखि ८ प्रदेशको बिचमा सहमती गरेर जान सहमत देखिए पनि कति संख्या भन्ने विषयमा भने अझै सहमत भएका छैनन् । बैठकमा प्रदेश संख्या टुंगो लगाउने र नाम र सीमाबारे विज्ञसहितकको आयोग बनाएर पछि टुंग्याउने विषयमा दलहरु सकरात्मक भएको जनाइएको छ ।
मंगलबार बिहान बसेको चार दलको बैठकपछि एमाले अध्यक्ष ओलीले प्रदेशको विषयमा सहमति हुने र सहमतिसँगै सबैले थाहा पाउने भन्दै बाहिरिए । विवादित विषयमा आफ्ना कार्यसूचीलाई भन्दा देश र जनतालाई माथि राखेर सहमति खोज्नका लागि सकरात्मक कुराकानी भएको उनको भनाई छ ।
बैठकपछि मधेसी मोर्चाका संयोजक गच्छदारले गत माघ ५ गते भएको अनौपचारिक सहमतिको वरिपरि रहेर प्रदेश बनाउने गरी छलफल भएको भन्दै नाम र सीमाबारे विज्ञसहितकको आयोगले पछि टुंगो लगाउने सक्ने जानकारी दिए ।
यसअघि सोमबार बसेको चार दलको बैठकमा कुनै सहमति नजुटेपछि २० गतेसम्म संविधानसभाको बैठक स्थगित गरेर सहमति खोज्ने जिम्मा शिर्ष चार नेतालाई दिइएको थियो । त्यसयता शिर्ष चार नेताले तीन पटक बैठक गरेपनि कुनै औपचारिक सहमति हुन सकेको छैन ।
प्रकाशित मिति:
June 03, 2015