२०७३ः माओवादीहरूको नाम फेर्ने वर्ष
काठमाडौं २ वैशाख
माओवादी घटकहरुका लागि २०७३ फुट र जुटको वर्ष बनेको छ । नयाँ वर्ष २०७३ सुरु भएको महिना दिनपछि औपचारिक रुपमा जुट्न सुरु गरेका माओवादी घटक दलहरुका लागि वर्षको अन्तिम दिन ३१ चैत पनि एकतामै बित्यो । ६ जेठमा विभिन्न १० माओवादी घटकबिच पार्टी एकता भएको थियो भने वर्षको अन्तिम दिन ३१ चैतका दिन पनि टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग माओवादी केन्द्रको एकतामा बित्यो ।
एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, मणी थापा नेतृत्वको माओवादी, मातृका यादव नेतृत्वको माओवादीसहित विभिन्न १० माओवादी घटकको ६ जेठ २०७३ मा पार्टी एकतापछि पार्टीको नाम नै नेकपा माओवादी केन्द्र राखियो । वर्षभरी विप्लव माओवादी, वैद्य नेतृत्वको माओवादीबाट नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम जारी रह्यो । त्यसै क्रममा वर्षको अन्तिम दिन लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका टंक राई नेतृत्वको पार्टी पनि माओवादी केन्द्रमा समाहित बन्न पुग्यो । त्यसो त वैद्य नेतृत्वको माओवादीमा परी थापा नेतृत्वको माओवादी २०७३ कै आसपासमा एकता भएको थियो ।
एकातर्फ, १० माओवादीबिच एकता चलिरहँदा माओवादीमा फुटको श्रृंखला समेत भए । नेकपा माओवादी केन्द्रमा पार्टी एकीकरणका क्रममा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुटेको थियो । बहुमतको निर्णयमा पार्टी महासचिव समेत रहेका रामबहादुर थापाको नेतृत्वमा पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीसँग पार्टी एकीकरण भएको थियो । विप्लव माओवादीबाट पनि एक समूह फुटेर पार्टी एकतामा आयो भने छरिएर र स्वतन्त्र रुपमा रहेका माओवादी समेत टुट फुट र जुटमा लागे । त्यसो त एमाओवादी उपाध्यक्ष पद त्यागेका डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टी गठन गरे । गठन भएको केही महिनापछि नै मुमाराम खनालले पार्टी त्यागे । त्यसको केही समयपछि २०७३ मा अर्का नेता तथा नेपाल सरकारका पूर्वसचिव समेत रहेका रामेश्वर खनालले पनि पार्टी त्यागे ।
६ जेठमा पार्टी एकतापछि नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य बनेका मणी थापा २०७३ माओवादीहरुका लागि एकता र उत्साहको वर्षका रुपमा लिन्छन् । ‘माओवादीहरुका लागि यो वर्ष एकताको वर्ष बन्यो,’ उनले राजधानीसँग भने, ‘यसले जनतादेखि नेता तथा कार्यकर्तासम्म उत्साह थपेको छ, तर अझै पनि जनयुद्ध र जनआन्दोलनबाट उठाइएका मुद्धाहरु स्थापित गरेर जानु चुनौती पनि छन् ।’
माओवादीहरुले सरकारको नेतृत्वमा पुग्नु, स्थानीय तहको निर्वाचन आफ्नै सरकारको पहलमा अघि बढ्नु, विभिन्न दलहरुसँग एकता हुनु, संविधान जारी हुनु लगायत विषय माओवादीका लागि खुसीको वर्षका रुपमा लिने गरेका । ‘गणितका रुपमा पनि परिवर्तन भएको छ, अब हाम्रा मुद्धाहरु गाउँदेखि केन्द्रसम्म स्थापित गर्नु र त्यहीँ मुद्धाहरुको आधारमा समृद्ध नेपाल निर्माणमा लाग्नु अबको हाम्रो यात्रा हुनेछ,’ नेता थापा भन्छन् ।
नाम फेर्ने वर्ष
२०७३ माओवादीहरुका लागि पार्टी नाम परिवर्तन गर्ने वर्ष जस्तै पनि देखिएको छ । ६ जेठमा भएको पार्टी एकताबाट एमाओवादीसहित विभिन्न माओवादीहरुले नाम परिवर्तन गरेर नेकपा माओवादी केन्द्र नामकरण गरे । एमाओवादी नै त्यागेका बाबुराम भट्टराईले त पार्टीको नाम र विचारधारा कम्युनिष्टबाट अलग्याउँदै नयाँ शक्ति नेपाल राखे ।
विप्लव नेतृत्वको माओवादीले फागुनमा रोल्पामा गरेको पार्टी महाधिवेनको बन्दसत्रबाट पार्टी नामबाट माओवादी शब्द नै हटाएर नेपाल कम्युनिष्ट पार्टी मात्रै नाम राख्ने निर्णय गर्यो । मुल पार्टीमा मात्र नाम परिवर्तनको लहर नभएर भातृ संगठनमा समेत देखियो । माओवादी निकटको पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनले समेत आफ्नो नाम परिवर्तन गरेर प्रेस सेन्टरमा नामकरण गरेको छ ।
प्रकाशित मिति:
April 15, 2017