माओवादीले दैनिक पत्रिका निकाल्दै
काठमाडौं २४ साउन
नेकपा माओवादी केन्द्रले पुनः राष्ट्रिय दैनिक पत्रिका निकाल्ने तयारी गरेको छ । पार्टीले गरेका राम्रा काम समेत सर्वसाधरणलाई बुझाउन नसकिएको भन्दै पार्टी सर्कलभित्र पार्टीको मुखपत्र र जनताका लागि स्वतन्त्र समाचार दिने एक दैनिक पत्रिका निकाल्ने तयारीमा माओवादी केन्द्र पुगेको हो ।
सञ्चार विभाग संयोजक समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर तीनको महाधिवेशन आयोजक समिति सदस्यहरुको मंगलबार भएको प्रशिक्षण तथा बैठकमा पार्टीले दैनिक पत्रिका निकाल्ने निर्णय गरेको जानकारी गराएका थिए ।
बैठकमा दाहालले आन्तरिक पार्टीको लागि नियमित मुख पत्र निकाल्ने र पब्लिकका लागि एक दैनिक पत्रिका चलाउने तथा स्कुलिङ विभागलाई चलायमान बनाएर अघि बढ्ने योजना रहेको बताएका थिए ।
माओवादी केन्द्रको २–७ साउनमा बसेको सचिवालय बैठकले सबै संगठनहरु सानो र छरितो बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै बसेको केन्द्रीय कार्यालय सदस्यहरुको बैठकमा अध्यक्ष दाहालको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय सञ्चार विभाग गठन भएको थियो । सञ्चार विभागको बैठकमा अध्यक्ष दाहालले पार्टीले मुखपत्रका साथै एक दैनिक पत्रिका सञ्चालनमा ल्याउने सोच बनाईरहेको बताएका थिए । बैठकमा उनले जनदिशा नाम राख्दा राम्रो हुन्छ भने त्यहीँ राख्ने त्यो बाहेक अन्य कुनै नाम राख्दा राम्रो हुन्छ भने अर्कै नाम राखेर पत्रिका सञ्चालन गर्ने बताएका थिए । मंगलबार हजारको संख्यामा उपस्थित तीन प्रदेशका आयोजक समिति सदस्यहरु सहभागी प्रशिक्षण कार्यक्रममा दाहालले दैनिक पत्रिका सञ्चालन गर्ने निर्णय भईसकेको बताएका थिए ।
माओवादीले शान्ति प्रक्रियामा आएसँगै २०६४ सालमा प्रमुख सम्पादक गोविन्द आचार्य, सम्पादक चन्द्रमान श्रेष्ठ र कार्यकारी सम्पादक दिपेन्द्र रोकाय रहने गरी ट्याबलेट साइजमा जनदिशा दैनिक सञ्चालन गरेको थियो । तर, सञ्चालनको चार वर्षमा नै २०६८ वैशाख ५ मा बन्द भएको थियो । त्यसपछि मोहन वैद्य नेतृत्वमा माओवादी विभाजन हुन पुगेको थियो । विभाजित वैद्य नेतृत्वको माओवादीले २०६८ फागुनदेखि नयाँ जनादिशा दैनिक नाम दिएर दैनिक पत्रिका नै चलाएको थियो । आर्थिक समस्याका कारण उक्त दैनिक पनि २ वर्षमा नै बन्द भएको थियो । जसमा कुमार शाह, दिपेन्द्र रोकाय, प्रभात चलाउनेको टिम सम्पादनको नेतृत्व तहमा थियो । हाल शाह वैद्य नेतृत्वको माओवादीमा छन् भने रोकाय दाहाल नेतृत्वको माओवादी र चलाउने विप्लव नेतृत्वको पार्टीमा छन् ।
यता, दाहाल र वैद्यको विभाजनपछि दाहाल पक्षधरले समाचार दैनिक नाम दिएर दैनिक पत्रिका निकालेका थिए । उक्त दैनिक पत्रिका पनि १० महिना सञ्चालनपछि बन्द भएको थियो । हाल, माओवादीका कुनै पनि दैनिक पत्रिका अस्तित्वमा छैनन् । तर, व्यक्ति व्यक्तिले चलाएका साप्ताहिक तथा मासिक पत्रिका भने सञ्चालन हुँदै आएको छन् । कतिपयले माओावदीभित्र व्यक्तिवाद र गुटवाद हाबी हुँदा पार्टीले चलाउने पत्रिका बन्द हुने तर व्यक्तिले चलाउने पत्रिका भने बाँचिरहेको गरेको आरोप समेत लाग्ने गरेको छ । माओवादीले पत्रिका चलाउने गरेपनि आर्थिक व्यवस्थापन गर्न नसक्दा बन्द हुने गरेको छ ।
प्रकाशित मिति:
August 08, 2017