माओवादीलाई भोट नदिन सिमामा एसएसबीको दबाब
- माओवादीले जिते भारतबाट खाद्यान्न नुन तेल बन्द हुने उपेन्द्र यादवको प्रचार
काठमाडौं २६ भदौ
भारतीय सिमाना जोडिएका पर्सा, महोत्तरी लगायत जिल्लाका तल्लो भागमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले माओवादी केन्द्रका उम्मेदवारलाई भोट नदिन चेतावनी दिने गरेको गुनासो आएको छ ।
एसएसबीका जवानहरुले माओवादीलाई भारतले नचाहेको र माओवादीलाई भोट हालेर जिताए नुन तेल बन्द गरिदिने धम्की समेत दिने गरेको स्थानीय माओवादी नेताहरुले बताएका छन् ।
भारतबाट सामान किनेर आउनेलाई समेत रोकेर एसएसबीका जवानहरुले माओवादीलाई भोट नहाल्न चेतावनी दिने गरेको पर्साका एक नेताले जानकारी दिए । सामान किनेर आउँदा समेत भारतीय एसएसबीले रोक्ने तथा अनावश्यक दुःख दिने गरेका छन् । किन रोकेको भन्दा माओवादीको गृहमन्त्री भएको र आफूहरुले माओवादी मन नपराएको भन्ने जवाफ दिने गरेको समेत गुनासो त्यहाँका स्थानीयले गरेका छन् ।
माओवादी केन्द्रका एक सचिवालय सदस्यका अनुसार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले समेत माओवादीले जितेमा भारतले नुन तेल बन्द गरिदिने तथा सिमाना कडाई गर्दा थप दुःख पाइने भन्दै ब्ल्याक मेलिङ गरिरहेको छ । उनले प्रदेश दुईका तल्लो भागमा माओवादी केन्द्रको पक्षमा माहोल सिर्जना भएकाले संघीय फोरम समेत माओवादीलाई ब्ल्याक मेलिङ गर्न उत्रिएको बताए ।
‘माओवादीलाई भोट दिएमा भारतले खाद्यान्न, बिउ बिजन मात्र रोक्दैन, भारतमा जान समेत गाह्रो हुन्छ, माओवादीलाई भारतले चाहेको छैन त्यसैले माओवादीलाई भोट नदिनु भनेर उपेन्द्र जीको पार्टीले समेत कुप्रचार गरिरहेको पाइयो, ती सचिवालय सदस्यले भने ।
प्रकाशित मिति:
September 11, 2017