भदौ ५ – पाँचथरको सारङडाँडा–१ मा गएराति डाँकाहरूको एक समूहले दुई परिवारमा लाखौंको सम्पत्ति लुटपाट गर्नुका साथै एक बालिकासहित दुई जनाको हत्या गरी आठ जनालाई घाइते पारेको छ ।
डाँकाको खुकुरी प्रहारबाट ६३ वर्षीय भक्तबहादुर आङ्दम्बेको घटनास्थलमै मृत्यु भएको र चार वर्षीया यमुनाको आज मध्याह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक हेमबहादुर पौडेलले जानकारी दिए । यमुनाको इलाम र पाँचथरको बीचमा पर्ने राकेमा मृत्यु भएको हो ।
सोही घटनामा डाँकाको प्रहारबाट ६४ वर्षीय आङ्दम्बे, उनकी बुहारी २४ वर्षीया निजकुमारी र ६८ वर्षीय अटलबहादुर आङ्दम्बे गम्भीर घाइते भएकाले उनीहरूलाई उपचारका लागि झापातर्फ ल्याइएको छ ।
प्राप्त जानकारीअनुसार आठ/दश जनाको डाँकाको एक समूहले अटलबहादुर र भक्तबहादुर आङ्दम्बेको घरमा लुटपाट गर्ने क्रममा प्रतिकार हुँदा उक्त घटना भएको हो ।
डाँकाहरूले भक्तबहादुरको घरबाट अढाइ लाख नगद र एक तोला सुन लुटेका छन् भने अटलबहादुरको घरबाट नगद रु १० लाख र २१ तोला सुन लुटेको प्रहरी निरीक्षक पौडेलले जानकारी गराए ।
पाँचथरको रवि बजारबाट पाँच घण्टाको पैदल हिँडेपछि मात्र उक्त स्थानमा पुग्न सकिन्छ ।
यसैबीच, इलाका प्रहरी कार्यालय झापाले दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउमा परेका डाँकाहरूबाट नगद रु तीन लाख एक हजार, सुनका गरगहना, मोबाइल, खुकुरी र कुटपिटमा प्रयोग भएका फलामका रड बरामद भएको प्रहरी नायब उपरीक्षक मोहन शर्माले जानकारी गराए । रासस