लडाकु समयोजनको गाँठो फुक्यो, भदौ २१ बाट भर्ना छनौट
भदौ ११ – असारदेखि ठप्प भएको माओवादी पूर्व लडाकुको समायोजन तथा भर्ना छनौट प्रक्रिया पुनः सुचारु हुने भएको छ ।
सेना समायोजन विशेष समितिको आज बसेको बैठकले नागरिकताको जन्ममितिलाई मान्यता दिएर भदौ २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
गत असारमा सरकारले एकलौटी रुपमा समायोजन प्रक्रिया अघि बढाएपनि लडाकूको उमेर र शिक्षा विवादका कारण छनोट भर्ना प्रक्रिया अवरुद्ध भएको थियो ।
आज बसेको समितिको बैठकपछि समिति सदस्य तथा नेपाली कांग्रेसका नेता रामशरण महतले १८ वर्ष पुगेको दिनलाई भर्ना मिति आधार मान्ने सहमति भएको बताए । उनले सञ्चारकर्मीहरुसँग अब लडाकुको समयोजनको गाँठो फुकेको पनि बताए ।
यसअघि माओवादी लडाकुको उमेर, शिक्षा लगायतका विषयमा उत्पन्न विवादले भर्ना प्रक्रिया नै अवरुद्ध बनेको थियो ।
विपक्षीहरुले यतिबेला सरकारको राजीनामालाई प्रमुख एजेण्डा बनाएर विरोध जनाईरहेका बेला आज विपक्षी नेताहरुको समेत सहभागितामा भएको उक्त निर्णयले अब माओवादी लडाकुको भर्ना प्रक्रिया छिट्टै टुंगिने संकेत मिलेको छ ।
Watch Video
प्रकाशित मिति:
August 27, 2012