सरकार गम्भीर भएन, सर्वपक्षीय सभा गर्न ढिलाई गरे आन्दोलन : वैद्य
काठमाडौँ, २४ जेठ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सर्वपक्षीय राजनीतिक सभा गर्न सरकारले गम्भीरता नदेखाएको औंल्याएका छन् ।
भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू’ को शुक्रबार सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले सर्वपक्षीय राजनीतिक सभा गर्न ढिलाइ गरिएमा आफ्नो पार्टी आन्दोलनमा जाने चेतावनी दिए ।
उनले भने “हामीसँगको छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले सर्वपक्षीय राजनीतिक सभा गर्न सरकार तयार रहेको बताउनुभएको छ, तर कार्यान्वयनमा गम्भीरता देखाउनुभएको छैन ।”
अध्यक्ष वैद्यले आफूहरूको सहभागिता नै नरहेको संविधानसभाले जनताको पक्षमा संविधान लेख्ने सम्भावना नरहेको दाबी गरे ।
सार्वजनिक गरिएको पुस्तकले स्व भक्तबहादुर श्रेष्ठको ओज, गरिमा र चिन्तनलाई बाहिर ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनको औपचारीक शिक्षा थोरै रहेपनि माक्र्सवाद र लेनिनवादसम्बन्धी ज्ञान र शिक्षाबाट आफू प्रभावित भएको बताए ।
भक्तबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् माओवादीका उपाध्यक्ष सिपी गजुरेलले पार्टीको दुई लाइन सङ्घर्षमा श्रेष्ठ जीवनभर क्रान्तिकारी लाइनमा उभिएको स्मरण गरे ।
प्रतिष्ठानले स्व श्रेष्ठको सम्झनामा शालिक र पुस्तकालय बनाउने तयारी गरकोसमेत उहाँले जानकारी दिए ।
कार्यक्रममा प्राडा रमेश शर्मा, डा ऋषिराज बराल र प्राडा नन्दीश अधिकारीले सङ्कलित रचनाहरूले श्रेष्ठको राजनीतिक व्यक्तित्वका साथै नेपालको कम्युनिष्ट आन्दोलको वैचारिक सङ्घर्ष र इतिहासलाई बुझ्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
सार्वजनिक गरिएको पुस्तकको भाग एकमा श्रेष्ठले विभिन्न समयमा लेखिएको लेख, दर्शन, दस्तावेज रहेका छन् भने भाग दुईमा श्रेष्ठले विभिन्न पत्रपत्रिकालाई दिनुभएको अन्तरवार्ता सङ्ग्रहित छ ।
प्रकाशित मिति:
June 07, 2014