असोज १५ – महोत्तरी जिल्लामा तीन दिनदेखि फैलिएको झाडापखालाको महामारीका कारण दुई बालबालिकाको मृत्यु
भएको छ ।
महोत्तरी जिल्लाको भारतीय सीमावर्ती सुदूर दक्षिणी—पश्चिमीक्षेत्रस्थित खैरबनी गाविसको गरिबबस्तीमा तीन दिनदेखि फैलिएको झाडापखालाले एकै परिवारका दुई बालबालिकाको ज्यान गएको हो ।
सो गाविसको ७ नम्बर वडामा पर्ने बस्तीमा गत शुक्रबारदेखि फैलिएको झाडापखालाले उपेन्द्र ठाकुर हजामका चार वर्षीया छोरी लक्ष्मिनियाँ र दुई वर्षीय छोरा मनीषको मृत्यु भएको हो ।
बस्तीमा झाडापखाला सुरु भए पनि तत्काल स्वास्थ्य संस्थामा जानकारी नपुग्दा लक्ष्मिनियाँको शनिबार राति र मनीषको आइतबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ । बस्तीमा फैलिएको प्रकोपले १० जना बिरामी रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।
प्रभावित बस्तीमा स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित पुगेर उपचार कार्यमा जुटेपछि अवस्था नियन्त्रणमा आएको कार्यालयले जनाएको छ । पछिल्लोपटक बजारमा खुल्ला बेच्न राखिएका खानेकुरा, बिरामी माछा र घरमा सुरक्षित नराखिएको खानेकुराको प्रयोगले बस्तीमा प्रकोप फैलिएको टोलीमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।