बालबालिकालाई खुवाउने सर्वोत्तम पिठोमा किरा फेला
कात्तिक २३ - ६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई खुवाउनका लागि सरकारले बझाङ पठाएको सर्वोत्तम पिठो पौष्टिक आहारमा किरा भेटिएको छ । ठूलो परिमाणमा ल्याएको पौष्टिक आहारमा कीरा भेटिएको हो ।
भदौमा स्वास्थ्य मन्त्रालयअन्तर्गत बाल स्वास्थ्य आपूर्ति महाशाखा केन्द्रीय मेडिकल स्टोर बाराबाट विभिन्न स्वास्थ्य संस्थामार्फत सर्वोत्तम पिठो जिल्ला भित्रिएको हो । आपूर्ति महाशाखाले नै जिल्लामा ढुवानी गरी दिएको दुई सय क्विन्टल पिठो वितरण नगर्दै किरा भेटिएको छ ।
भदौको अन्तिम साता स्वास्थ्य विभागले ट्रान्सपोर्ट गाडीमार्फत सर्वोत्तम पिठो जिल्ला पठाएको थियो । जिल्ला जनस्वास्थ्य प्रमुख डा. इन्द्रप्रसाद पौड्यालले महाशाखाबाट पिठो आउँदा नै शंकास्पद तरिकाले आएको बताए । उनले भने, 'उतिखेर नै हामीले लिटोको प्याकेटमा शंका लागेर बच्चालाई खुवाएका थिएनौँ, अहिले हेर्दा त सबै कार्टुनमा घुन र सेता किरा परेको देखियो ।' चिकित्सकले पनि स्वास्थ्य विभागले नै गुणस्तरहीन पिठो पठाएको हुँदा यति छिटै किरा परेको बताए ।
पौष्टिक आहार जिल्लाका कुपोषण भएका झन्डै दुई हजार बालबालिकाका लागि पठाएको जिल्ला अस्पतालका स्टोरकिपर दलबहादुर बुढाले जानकारी दिए । जिल्ला अस्पताल सिमखेत, झोता स्वास्थ्यचौकी र देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको सर्वोत्तम लिटो यो साताबाट वितरण गर्ने जिल्ला स्वास्थ्य कार्यालयको योजना थियो ।
सर्वोत्तम पिठोमा किरा तथा सढेको देखिएपछि हाल बच्चालाई खुवाउने कार्यक्रम बन्द गरी स्वास्थ्य विभागमा समेत जानकारी गराएको जनस्वास्थ्य प्रमुख डा. पौड्याले बताए । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले पिठोमा कीरा परेको बारे छानबिन गरिने बताए । - नयाँ पत्रिका
प्रकाशित मिति:
November 08, 2012