पुस २ रासस – माघेसङ्क्रान्तिमा जुधाइने गोरु छनोटका लागि भन्दै आइतबार नुवाकोटको तारुकामा गोरु सम्मेलन भएको छ ।
सम्मेलनमा किसानले ३८ वटा गोरु ल्याएर प्रदर्शन गरे पनि गोरुको अन्तिम छनोट भने हुन सकेन । गोरुको क्षमता, लडाकुपन र जोस हेर्नका लागि जुधाउनुपर्ने भएकाले गोरु हेरेर मात्र छनोट गर्न नसकिएको माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुङ्गानाले बताए ।
काठमाडौँ ज्ञानेश्वरस्थित सानोगौचरणमा आउँदो माघ १९ र २० गते गोरु जुधाउनका लागि उत्कृष्ट गोरु छान्ने भन्दै गोरु सम्मेलन गरिएको थियो । गोरुको लडाकुपन हेरेर मात्र छनोट गर्नुपर्ने भएकाले माघे सङ्क्रान्तिमा गोरु जुधेको हेरेपछि मात्र काठमाडौँ लैजान गोरुको छनोट गरिने समितिका अध्यक्ष ढुङ्गानाको भनाई छ ।
नेपाल ओलम्पिक सङ्ग्रहालयको आयोजनामा तारुकाका गोरुहरू ज्ञानेश्वरको सानो गौचरणमा जुधाइन लागेको हो । ‘प्रथम राष्ट्रिय गोरु जुधाइ प्रतियोगिता’ नाम दिइएको मेलामा छ हल गोरु जुधाइने सम्झौता भएको अध्यक्ष ढुङ्गानाले बताए । विजेता गोरुधनीलाई रु २५ हजारसहित प्रशंसापत्र एवम् उपविजेततालाई रु १५ हजारसहित प्रशंसापत्र प्रदान गरिने छ । प्रतियोगितामा जुधाइने गोरुको बिमा तथा औषधोपचार गरिने पनि सम्झौता भएको समितिले जनाएको छ ।
गोरु जुधाउने पुरानो परम्परालाई व्यवस्थित गर्दै तारुका–५ चन्दनीमा पछिल्लो आठ वर्षदेखि बारीको एउटै पाटामा माघेसङ्क्रान्तिको दिन गोरु जुधाएर मनोरञ्जन लिने चलन छ । यहाँ गोरु जुधाएको हेर्नका लागि हजारौँ मानिसको भिड लाग्ने गर्छ । पछिल्लो पाँच वर्षदेखि नुवाकोटको बेत्रावतीमा पनि गोरु जुधाउन थालिएको छ । चन्द्रशम्शेरका ज्वाइँ मानवतावादी जयपृथ्वीबहादुर सिंहको सम्मानमा सो गोरुजुधाइ गर्न थालिएको बताइँदैआए पनि सोको पुष्टि भने भइसकेको छैन ।
