१० बैशाख । सिरहा फूलकहाकट्टीका एक व्यक्ति माछापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
सञ्जय मत्स्य भुरा उत्पादन केन्द्र फूलकहाकट्टी–६ सन्तनगरका रामलाल चौधरीले माछाको भुरा बेचेर मासिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।
चौधरीले आफ्नै लगानीमा माछा उत्पादन गर्ने मेसिन राखेर २६ वटा पोखरीमा १० वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन् । “माछापालन व्यवसायबाट वार्षिकरूपमा १०÷१२ लाख रुपैयाँ कमाई भइहाल्छ”, चौधरीले खुसी हुँदै भने ।
सिल्भरकार्प, ग्रासकार्प, भाकुर, बिग्हेड, कमनकार्प, नैनी, रहु, वाटा, वेसर, माँगुरलगायतका १० जातका माछा उत्पादन चौधरीले गर्दै आएका छन् । चौधरीका अनुसार यहाँबाट सिरहामात्र नभइ सप्तरी, धनुषा, महोत्तरी र भारत बिहारका ठूलाठूला व्यापारीहरू पनि यहींबाट माछाको भुरा किनेर लग्छन् ।
माछापालन व्यवसाय सञ्चालनमा आएपछि वरपरका मजदुरहरूले पनि रोजगारी पाएका छन् ।
“करिब पाँच वर्ष अगाडिदेखि भुरा उत्पादन र बिक्री गर्न थाल्दा यत्रो ठूलो कारोबार हुन्छ भन्ने विश्वासै थिएन, चौधरीले भने ।, “अब अझै १० वटा पोखरी थप्ने योजना छ ।” यहाँ पूरै विश्वास दिएर माछाको भुरा विक्री गर्ने गरेका कारण माग अत्यधिक बढेको उनको भनाइ छ ।
“अरूलाई विदेश जाँदै गरेको देख्दा र सुन्दा आफू पनि विदेश जाने योजना बनाएको थिएँ”, चौधरीले भने, “तर माछापालनमा लागेपछि सयौँ युवालाई यहीं रोजगारी दिएको छु ।”
रोजगारी नपाएर पैसा कमाउन विदेश गएकाहरू ठगिने गरेका कारण आफ्नै देशमा परिश्रम गरेर रुपैयाँ कमाउन युवालाई सुझावसमेत दिने गरेको चोधरी बताउँछन् ।
Powered by Blogger.
माछाका भुरा बेचेर लाखौँ आम्दानी
प्रकाशित मिति:
April 23, 2013