जेठ १२ । एक कार्यक्रमका सहभागीहरुले सुरक्षित र सम्मानित मातृत्वका लागि भनेर पेस गरिएको विधेयक चाँडो पारित गरिनुपर्नेमा जोड दिएका छन् ।
सुरक्षित मातृ सञ्जाल नेपालद्धारा आइतबार राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले नेपाली महिलाको नैसंर्गिक अधिकार लागि पनि मातृत्व सम्बन्धि ऐन पारित हुन आवश्यक रहेको बताएका छन् । उक्त ऐनका लागि सरोकारवालाहरुले सन २००९/१० मै पारित हुने गरी बिल पेस गरिसकेको र अझै पारित नभएको बताए ।
कार्यक्रममा बोल्दै सञ्जालकी अध्यक्ष आरजु देउवा राणाले अहिलेसम्म विदेशीको भरमा मातृत्व गरिरहेको भन्दै उनीहरुले गर्दै आएको सहयोग रोकेमा मातृत्व गर्दा पाइने सेवा सुविधा समेत रोकिने भन्दै सरकारले ऐन बनाउन आवश्यक रहेकोमा जोड दिइन् । महिलाको अधिकारका रुपमा पनि मातृत्व अधिकार लागु हुनुपर्ने उनको भनाई छ ।
उनले धनीलाई राम्रो सुविधा र गरीबलाई नराम्रो सुविधा पाइने चलनको अन्त्य हुनुपर्ने समेत बताएकी छन् ।
उनले कार्यक्रममा स्वीडेनमा १ लाख बराबर १ जना महिलाको मात्रै मातृत्वसँग जोडिएर निधन हुने गरेको तर नेपालमा भने एक लाख बराबर १७१ जनाको ज्यान जाँदै आएको भन्दै यस विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ता तथा सहभागीहरुले मातृत्वका लागि प्रसुति गृह तथा स्वास्थ्य चौकीमा जाँदा सम्मानजनक व्यवहार नगरेको तथा भरपर्दो सेवा नपाएको भन्दै दुःख व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी केहीले भने सेवा लिन जानेले पनि आफ्नो अधिकारका भित्र रहनुपर्ने र सेवा दिनेले पनि भेदभावरहित सम्मानजनक सेवा दिन पछि हट्न नहुनेमा जोड दिएका थिए ।
Powered by Blogger.
सरोकारवालाद्धारा मातृत्व सम्बन्धि ऐनको खोजी
प्रकाशित मिति:
May 26, 2013