रमेश भट्टराई
असार ५ । लगातार तिन दिनको वर्षा पछिको बाढी तथा पहिरोमा परी सुदूरपश्चिममा सोमवार र मंगलवार १० जनाको ज्यान गएको छ ।
बाढी र पहिरोमा परि अझै तिन जना बेपत्ता भएका छन । बैतडी, दार्चुला, अछाम, र कंचनपुरमा गरी १० जनाको मृत्यु भएको हो भने बझाङ र डोटीमा तिन जना बेपत्ता भएका हुन् ।
सोमवारी राती आएको पहिरोले बैतडीको सिद्धेश्वर गाविस वडा नं ९ घर पुरिँदा एकै घरका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय रामसिंह ऐरीकी श्रीमती सिता, छोरी परमेश्वरी र विन्देश्वरी, एक वर्षिय छोरा अर्जुन र उनकै घरमा बस्ने कलावती ऐरी रहेका छन् ।
राती पहिरोमा परेका पाचै जनाको शव मंगलवार बिहान उद्धारकर्मीहरुले निकालेका थिए । सोमवार राती नै अछामको कुन्तिवण्डाली गाविस वडा नम्बर ३ मा तिखाडा खोलाले स्थानिय मिन बहादुर बोगटीको घर बगाउदा उनकी श्रीमति अनिशा र ४ बर्षिया छोरी रविनाको समेत मृत्यु भएको छ ।
यस्तै दार्चुलाको धाप गाविसमा महकाली नदीले बगाउदा सोमवार बिहान सरस्वती रैखोलाको समेत ज्यान गएको थियो । यता कंचनपुरमा पनि सोमवार नै बाढीले बगाउदा २ जनाको ज्यान गएको थियो । यस्तै बाढी र पहिरोमा परी डोटी र बझाङमा ३ जना बेपत्ता भएका छन । डोटीमा गगुडामा रौवा खोलाले बगाउदा पलाडीकी देवी बोगटी बेपत्ता भएकी छिन । उनको खोजी भईरहको स्थानीय गणेश बोगटीले जानकारी दिए ।
दार्चुलाको डोजिजीबी भन्ने स्थानमा रहेको नयाँ झोलुंगे पुल मंगलवार महकाली नदीले बगाएको छ । यस्तै मंगलवार साँझ उकु गाबिसमा एक घर पहिरोले बगाएको छ । दार्चुलाको खंलगा, गल्फै लगायत आसपासका गाबिसमा पहिरो र बाढिले सवैभन्दा बढि क्षती पुर्याएको हो । मंगलवार दिउसो देखी वर्षा रोकिएर महाकाली नदीमा पानीको बहाव घटे पनि जमिन भासिने क्रम जारी रहँदा जिल्ला प्रहरी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय र दूर सञ्चार प्राधिकरणको कार्यालय अझै उच्च जोखिममै रहेका छन । ती कार्यालयका सामान अन्यत्रै सारिएको छ ।
महाकाली नदीले घर बगाएर बिस्थापित बनेका दार्चुलाका बाढी तथा पहिरो पिडितहरु खुल्ला आकाश मुनी रात काट्न बाध्य भएका छन । बिस्थापित बनेको तिन दिन बितिसक्दा समेत आफुहरुले राहत नपाएको उनिहरुले गुनसो गरेका छन् । बाढीले एकातर्फ भएभरको घर सम्पती लग्यो दार्चुला गल्फैका बाढी पिडित केशव बहादुर पालले भने – यता खुल्ला आकाश मुनी सोमवार रात काट्यौ, तिन दिन बितिसक्यो राज्यले राहत दिने भन्ने सुनिएपनि अहिले सम्म राहत दिएको छैन । के खाने कहाँ बस्ने कुनै बेवस्था नहुदा निकै समस्या परेको छ । पालले गुनासो गर्दै भने – जनताका पिडा कस्ले सुन्छ र कुनै ठुलाबडाका घर बगेका भए पो सरकार जिम्मेवार बन्थ्यो तर सर्वसाधारणका पिडा सुन्ने कुनै निकाय छैन हाम्रो देशमा । बाढी र पहिरोले सुदुरपश्चिममा सवैभन्दा बढि दार्चुला प्रभाबित बन्यो भने त्यस्तै अन्य जिल्लाहरुमा पनि बाढी र पहिरोको खतरा रह्यो ।
यता कैलालीमा बाढीले बस्तीहरु डुवानमा पार्यो । टिकापुर नगरपालिका २ दौलतपुर बस्ती र शाहीपुर कर्णाली नदीका कारण उच्च जोखिममा छन । कर्णाली नदीमा पानीको सतह बढ्न गई बस्ती डुवानको खतरामा परेको हो । सो ठाउमा २ जना प्रहरी सहित ४३ जना स्थानियबासी खतरामा रहेका छन । उद्धार गर्ने भनिएपनि उद्धार भने गर्न सकिएको छैन कैलालीका प्रहरी प्रवक्ता क्रषिराम कडेलले जानकारी दिए ।
उनका अनुसार वर्षा पछि पहिरोका कारण सहजपुर ९ बस्ने पदम बहादुर बिकको घर भत्केको छ भने सहजपुर २ खानडाडामा कमलावती अर्चायको २ तले घर चर्किएको छ । घर भित्रको सामाग्री र ब्यक्तिहरुलाई स्थानियबासीन्दाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ । यस्तै कैलालीका अत्तरिया, चौमाल, धनगढीका बिभिन्न बस्तीहरु समेत वर्षाका कारण जलमग्न बने । यद्यपी कुनै क्षती भने भएन ।
धनगढी नगरपालिका ११ र १२ मा मोहना नदी तथा खुटिया नदीले निकै खेती योग्य जमिन कटान गरेको स्थानियले बताएका छन । चिसापानीमा रानी जमरा नहरमा कर्णाली नदीको भेल पसेपछि बलिया ९ गोरोेङ्गेका ८० वटा घर मंगलवार डुबानमा परे । पथरैया नदीले थापापुर ९ सोनाफाटामा १० ओटा घर डुबानमा पार्यो । लालबोझी गाबिस वडा नम्बर १ तजिया चर्रा सिबिर र लखरैयालाई पनि कान्द्रा र मोहना नदीले मंगलावर डुबानमा पारेको थियो । टिकापुरका बिभिन्न वडाहरु समेत वर्षा पछिको बाढीका कारण डुबानमा परे ।
टीकापुर ३ नुक्लीपुर, साहीपुर सिमे्रनी, कर्मीडाडा बंगलापुर, बनकट्टिका सयौं घरहरु डुबानमा परे । कयौं घरपरिवार विस्थापीत भएका छन । थापापुरमा १ सय ३५ घरहरु डुबानमा परे १ घर बाढीले भत्काएको छ । घरहरु बाढीले डुबान र भत्काएपछि बिस्थापित बनेका स्थानियहरु भने सुरक्षित स्थान नजिकैको बिद्यालय तथा आफन्त कहाँ बसी रात काट्न बाध्य भएका छन । कैलालीको बलीयामा राहत स्वरुप खाद्यान्य बितरण गरिएपनि मंलवार साझ अन्य कुनै ठाउमा राहत बितरणको कार्य भएको छैन । यद्यपी मंगलवार बिहान निमित्त प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायको संयोजकत्वमा बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले पिडितहरुलाई तत्काल राहत बितरण गर्ने निर्णय गरेको छ भने उद्धार सामाग्री र सेना प्रहरीलाई पनि परिचालित गर्ने निर्णय गरेको डिएसपी क्रषिराज कडेलले जानकारी दिए ।
कैलालीमा वाढीवाट विभिन्न गाविसमा ५ सय ३७ परिवार प्रभावित भएको जिल्ला रेडक्रस सोसाईटी शाखा कार्यालय कैलालीले जनाएको छ । सवैभन्दा वढी पथरैया गाविसको वडानम्वर ७ र ८ मा १ सय ५० परीवार प्रभावित भएका छन । यस्तै वलिया गाविसमा १ सय १५, टिकापुर नगरपालीकामा १ सय १० खैलाडमा ४५, सुगरखालमा ४०, भजनीमा ३५ परिवार वाढीवाट प्रभावित भएका छन । यस्तै वाढीवाट नारायणपुर, मालाखेती, चौमाल र सहजपुर लगायतका गाविसका स्थानियवासिन्दा पनि प्रभावित बनेको जिल्ला रेडक्रस सोसाईटी शाखा कैलालीलीले जनाएको छ ।
पछिल्लो तीन दिन यता कैलालीमा दुई वर्ष यताकै उच्च वर्षा भएकोे छ । मौसम बिज्ञान बिभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार कैलालीमा २४ घण्टाको अवधिमा एक सय ७ दशमलव ४ मिलिलिटर बर्षा भएको छ । सोमबार मात्रै कैलालीमा २० दशमलव २ मिलिलिटर वर्षा भएको कार्यालयका इन्चार्ज राजीव कुमार झाले बताए ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ को बस्ती महकाली नदिको बाढीका कारण बिस्थापित बनेको छ । सो ठाउँका करिब १ सय ५० परिवारहरु सुरक्षित स्थान तर्फ सरेका छन । दोधारा र चाँदनी गाबिसको वडा नम्बर ६,७,८ का १ सय परिवार सोमवार राति देखि बिस्थापित भई नजिकैको शारदा उच्च माविमा आश्रय लिई बसिरहेको छन ।
भुजेला क्षेत्रका करिब ६० परिवार पनि बिस्थापित बनेका छन । जिल्ला प्रहरी कार्यालयका डीएसपी बिर्खबहादुर रावलका अनुसार कंचनपुरमा बाढिका कारण जिल्लाका बिभिन्न ठाउमा १० वटा घर बगेका छन । महाकालीे नदिको पिप्रैया घाटमा दुई दिनदेखि बाढीमा फसेका २ ट्रक, ४ ट्रयाक्टर, एक ट्रि«पर र एक ढुंगा निकाल्ने मेशिन समेत महकाली नदीले बगाएको बताइएपनि मंगलवार दिउसो देखि वर्षा रोकिएपछि महकाली नदीको जलस्तर घटेपछि ढुङ्गा निकाल्ने मेसीन चाहि सोही स्थानमा देखिएको डिसपी रावलले बताए ।
उनका अनुसार जिल्लामा दैवी प्रकोप उद्धार समितिको बसेको बैठकले जिल्लामा बुधवार बिहान १० बजे सम्म पिडितहरुको लगत संकलन गरि राहत बितरण गर्ने निर्णय गरेको छ ।
उता डडेल्धुराको भित्री मधेस क्षेत्रका तिन गाउं महाकालीले बगाएको छ । ईलाका प्रहरी कार्यालय जोगुढाका प्रहरी निरीक्षक सूर्य चन्दले दिएको जानकारी अनुसार जोगबुढाको सरकुणा, तातापानी र शिर्ष गाविसको परीगाउँको मथिल्लो गाउ महाकालीले बगाएको छ । तीनवटै गाउँका गरी ५२ परिवार बिस्थापित भएका छन । यस अघि २०६२ सालमा ३२ जनाको ज्यान जाने गरी बाढीले बगाएको लदौली गाउँमा पुन बाढी आएपछि गाउँलेहरुले गाउ छाडेको स्थानियबासीन्दा हरिबहादुर बोहराले जानकारी दिए । बाढि र पहिरो कारण सुदुरपश्चिमका पहाडि जिल्लाका अघिकांस ग्रामीण सडकहरु अवरुद्ध बनेका छन । बझाङ, डोटी र बाजुरामा बिगत तिन दिनदेखी यातायत सेवा अवरुद्ध बनेको छ । डडेल्धुरा धनगढी जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत भासु सडकखण्डमा मंगलवार बिहान गएको पहिरो पन्छाईएपछि दिउसो देखी सो राजमार्गमा यातायतका साधनहरु संचालनमा आएका छन ।
उता डोटीमा पनि बाढिले तोलेनी गाविसमा रहेको ६३ किलोवाट क्षमताको साईली गाड तेस्रो लघु जलबिद्युत आयोजनाको पावर हाउस बगाएको छ । सोमवार राति आएको बाढीले पावर हाउसमा रहेका मेसिन तथा उपकरणहरु बगाएको हो । करिब १ करोड ५० लाख रकम बराबरको पावर हाउस बगेपछि त्यस ठाउँका ६ सय ११ घरधुरीमा बिद्युत सेवा अवरुद्ध भएको छ । पावर हाउस भित्र रहेका ३ जना कर्मचारीहरु भने बाढि पहिरो आउनु भन्दा आगाडि नै त्याँहाबाट भागेर ज्यान जोगाउन सफल भएका स्थानिय भक्तराज उपाध्यायले जानकारी दिए । डोटीको सेती नदीले लामीखाल वडा नम्बर ६ ७ मा सयौ खेती खेती योग्य जमिन बगरमा परिणत गरेको छ ।
अछाम जिल्ला पनि बाढी र पहिरोका कारण प्रभाबित बन्यो । अछाममा कर्णाली नदी र स्थानिय खोलाहरुले सयौ हेक्टर खेती योग्य जमिन बगाएको छ । कर्णाली नदीमा आएको बाढी र पानीको बहाब बिगत दशक यताकै उच्च रहेको पूर्व सांसद रामबहादुर विष्टले बताए । उनका अनुसार नदी छेउ छाउको बस्ती जोखीममा रहेको छ ।
बझाङ पनि बाढी र पहिरोको उच्च जोखीमा रहेको छ । सबैभन्दा बढि बझाङ सदरमुकाम चैनपुर सेती नदीको बाढीका कारण उच्च जोखीममा परेको छ ।