नेपाल-भारतका समस्या आपसी वार्ताबाट समाधान गर्न दुई देश सहमत
असार २५ - नेपाल र भारतका उच्च सरकारी अधिकारीहरू दुवै मुलुकबीच विद्यमान समस्या छलफल र वार्ताको माध्यमबाट समाधान गर्न सहमत भएका छन् ।
दुवै मुलुकका विदेशमन्त्रीको नेतृत्वमा आज यहाँ सम्पन्न उच्च पदस्थ सरकारी अधिकारीहरू सम्मिलित द्विपक्षीय वार्तामा डुबान, व्यापार, वाणिज्यलगायत क्षेत्रका समस्या निराकरण गर्ने सहमति भएको हो ।
सौहार्द्रपूर्ण वातावरणमा भएको वार्तामा पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले शान्ति तथा प्रजातान्त्रिक प्रक्रिया र आसन्न संविधानसभाको निर्वाचनबारे छलफल भएको बताए ।
नेपालमा उत्पादित सामग्रीमा भारतले लगाउँदै आएको अतिरिक्त भन्सार महसुलको प्रावधान अन्त्य गर्ने तथा निर्यात प्रवद्र्धनका सबै बाधा हटाउन दुवै मुलुकका वाणिज्य सचिव नेतृत्वको संयुक्त समितिले आवश्यक कार्य गर्ने सहमति भएको जानकारी पनि प्रवक्ता थापाले दिए ।
भारतीय सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण गर्ने प्रस्ताव अदालतमा विचाराधीन रहेकाले थप टिप्पणी गर्न अस्वीकार गर्दै उनले नेपाल र भारतले आ–आफ्ना भूमिमा अध्यागमन कार्यालय स्थापना गर्न चाहेको स्पष्ट गरे ।
गत महिना यहाँ सम्पन्न नेपाल–भारत गृहसचिवस्तरीय बैठकमा सीमा क्षेत्रमा अध्यागमन कार्यालय खोल्न भएको सहमतिबारे थप प्रष्ट्याउँदै प्रवक्ता थापाले भने ।
काभ्रेको पनौतीमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने विषयमा सामान्य छलफल भएको जानकारी दिँदै दुवै देशले त्यससम्बन्धी कानुनी प्रक्रिया पूरा गरी नसकेकाले त्यसले औपचारिकता नपाएको बताए ।
सद्भावना भ्रमणमा आज बिहान यहाँ आएका भारतीय विदेश मन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री घिमिरेले दिवाभोजको आयोजना गरेका थिए । रासस
प्रकाशित मिति:
July 09, 2013