न्याय खोज्दै बुद्धनगरमा
भदौ १९ । शिरमा नेपाली टोपी खुट्टामा चप्पल लगाएका खोटाङका चित्रकुमार दाहाल बुद्धनगरस्थित नेकपा–माओवादी पार्टी कार्यालयमा भेटिए ।
यथास्थितिमा गराइने चुनावलाई ध्वस्त पार्ने उद्घोषसहित सडकमा उत्रिएको माओवादीको अभियानका लागि भने उनी त्यहाँ पुगेका होइनन् । जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत आफ्नो कुरा नसुनेको भन्दै न्याय खोज्न उनी बुद्धनगर पुगेका हुन् । न्याय नै दिने कुरा त परै छ जिल्ला प्रहरी कार्यालयदेखि जिल्ला, पुनरावेदन र सर्वोच्चले समेत मुद्दा समेत दर्ता गर्न नमानेको उनको भनाई छ ।
२०६३ साल कात्तिक २४ गते राति उनका भाइ झनक दाहाल मृत फेला परेपछि उनी यसरी नै न्याय खोज्दै हिडिरहेका छन् । उनी आफ्नो भाइको हत्या भएको बताउँछन् । खोटाङ बडहरे गाविस ९ ज्यामिरबोटका उनी आफ्नो भाइलाई छिमेकीहरुले मारेको उनको दाबी छ ।
त्यही विषयमा भाइको हत्या गरिएको उनको दाबी छ । रातभर २७ जना बसेर कचडी गर्नु अनि बिहान ९ बजेतिर बनैभरी भन्ने खरबारीमा भाईको शव भेटिनुका पछाडी हत्या नै भएको उनी बताउँछन् । उनी भन्छन्, “रातभर कचहरीमा बसेको मेरो भाइ बिहानपल्ट मृत फेला पारेपछि मैले प्रहरीमा उजुरी हाले । तर, प्रहरीले पनि कुनै वास्ता गरेन ।” उनले जिल्ला प्रहरी कार्यालयमा धेरै धाए तर कतै पनि उनको कुरा सुनिएन । त्यसपछि उनले जिल्ला अदालत खोटाङमा मुद्दा हाले । त्यहाँ पनि उनले न्याय पाएनन् । त्यसपछि उनले पुनरावेदन हुँदै सर्वोच्चसम्म मुद्दा दायर गरे । अदालत पनि ठूला ठालूहरुको प्रभावमा र विभिन्न आर्थिक प्रलोभनमा परेको उनको दावी छ । आफूलाई न्याय दिने निकायले नै हेला गरेको उनले हेलोखबर डटकमसँग गुनासो पोखे । ज्यामी काम गर्ने चित्रकुमार आफ्ना मान्छे कोही पनि नभएका कारण पीडा सुनिदिने कोही नभएको बताउँछन् ।
यसरी जताततैबाट आफूमाथि अन्याय भएपछि उनी नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा पुगेका हुन । आफ्नो कमजोर आर्थिक अवस्था भएका कारण र सानो काम गर्ने भएका कारण कसैले पनि उजुरी दर्ता गर्न नमानेको उनको भनाई छ । न्यायको खोजीमा भौतारिएका चित्रकुमार ज्यामी काम गर्छन् भने मृतक भाइकी श्रीमती चित्रकुमारी दाहाल तीन छोरीका साथ इटहरीमा बस्दै आएकी छिन् । उनी अपाङ्ग समेत छिन् । भाइकी श्रीमती अपाङ्ग रहेका कारण उनकी छोरीहरुको अवस्था निकै नाजुक रहेको उनको भनाइ छ । उनी भन्छन्, “भाइलाई मारिदिए, यसको छानविन समेत कसैले गरिदिँदैन । भाइबुहारी अपाङ्ग छिन् । तीन छोरीहरुलाई अब कसले पाल्ने, कसले पढाउने ?” सात वर्षसम्म न्याय खोज्ने क्रममा उनको घरको आर्थिक अवस्था समेत निकै नाजुक भइसकेको छ ।
सात सात वर्षदेखि न्याय खोज्दै गाउँदेखि सदरमुकाम हुँदै राजधानी र जिल्ला प्रहरी कार्यालयदेखि जिल्ला अदालत, पुनरावेदन र सर्वोच्च अदालतसम्म पुग्दा पनि उनको कुरा नै नसुनिनुले घटनामाथि प्रश्न उठेर गएको छ ।
प्रकाशित मिति:
September 04, 2013