नेकपा- माओवादीको मुख्य निसाना एमाओवादी
बार्तिक ७ । नेकपा-माओवादीले एकीकृत माओवादीलाई मुख्य निसाना बनाई चुनाव बहिष्कार कार्यक्रम तय गर्न मातहत निकायलाई निर्देशन दिएको छ । चुनावको सक्रिय बहिष्कारसँगै एमाओवादीका उम्मेदवारलाई हराउन मुख्य प्रतिस्पर्धीलाई सघाउनेसम्मका रणनीति छ ।
माओवादी नेतृत्वले मौखिक रूपमा मात्र असहयोगका लागि निर्देशन दिएको छ । सोहीअनुसार काम पनि भइरहेको छ, आफ्ना कार्यकर्तालाई सकेसम्म मतदानमै सहभागी नगराउन र जानेहरूलाई पनि एमाओवादीको मुख्य प्रतिस्पर्धीलाई सघाउन केन्द्रित माओवादी स्रोतले जनाएको छ ।
एमाओवादीका शीर्ष नेता सहभागी जिल्लामा विरोध प्रदर्शन गर्नेदेखि प्रमुख नेतालाई चुनावमा हराउनेसम्मको कार्यक्रम बनाउन केन्द्रले निर्देशन दिएको हो । सोहीअनुसार माओवादी कार्यकर्ताले सुदूरपश्चिममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको चुनावी अभियानमा अवरोध गरेका थिए । बुधबार पनि पोखरा, रसुवालगायत ठाउँमा एमाओवादीका उम्मेदवारलाई प्रचारप्रसारमा उनीहरूले रोकेका थिए ।
३३ दलीय मोर्चाको निर्णयअनुसार बहिष्कारलाई सशक्त पार्ने हाम्रो पहिलो काम हो, पार्टी केन्द्रले हालै दिएको निर्देशनलाई उद्धृत गर्दै सुदूरपश्चिमका एक केन्द्रीय नेताले भने, त्यससँगै एमाओवादीका उम्मेदवारलाई हराउनसमेत हामी क्रियाशील हुन्छौं ।
मोहन वैद्यले नेतृत्व गरेको एउटा हिस्साले १५ महिनाअघि सैद्धान्तिक प्रश्न उठाउँदै एमाओवादीबाट अलग भई नेकपा-माओवादी गठन गरेको हो । पार्टीले बोकेका सिद्धान्त, कार्यदिशाभन्दा बाहिर गई काम गरेकाले अलग हुनुपरेको दाबी गर्दै आएको माओवादीले मंसिर ४ को चुनावमा एमाओवादीलाई नै असहयोग गर्ने रणनीति तय गरेको उसले बनाएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रकाशित मिति:
October 24, 2013