मोरङको सुन्दरपुरमा बिरामी कुरेर बस्ने ढुकुरको विषयमा सञ्चारमाध्यमहरुमा समाचार प्रशारण भएपछि बिरामी तथा ढुकुर हेर्न मानिसको घुइंचो बढ्न थालेको छ ।
गत जेठ महिनादेखि पेट सुन्निने रोगले थला परेकी ५० वर्षीया धनमाया गुरुङसंग दैनिक एउटा ढुकुर आएर संगै बस्ने गरेपछि त्यो दृश्य हेर्न सर्वसाधारणहरुको भीड लाग्न थालेको हो ।
विरामी कुर्न ढुकुर आएको दृष्य हेर्न मानिसहरु अहिले पूर्वी नेपालका साथै भारतबाट समेत गुरुङको घरमा पुग्न थालेका छन् । गाडी नै रिजर्भ गरेर त्यंहँ पुग्ने सर्वसाधारणले बिरामी गुरुङलाई आर्थिक सहयोगसमेत दिन थालेपछि सहयोग संकलन कोष नै बनाइएको छ। उनीहरुले रामबहादुर बस्नेतको संयोजकत्वमा समिति बनाएर सहयोग संकलन थालेका हुन् । गरीबको सहारा ढुकुर भन्दै पर्चा बनाएर सहयोगका लागि अपिलसमेत गरेका छन्। ढुकुरको आवत जावतले सबैलाई अचम्ममा पारेको छ ।
हालसम्म ५० हजार रुपैया संकलन भइसकेको बिरामीका पति ध्रुवकुमार गुरुङले बताए । सुन्दरपुरस्थित ऐलानी जग्गामा बसोबास गर्दै आएकी गुरुङलाई उनको रोग निको हुन १० लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकले भनेपछि उनी उपचारको आशा मारेर घरमै बसिरहेकी छिन् ।
एक महिनादेखि ढुकुर नियमित रुपमा गुरुङसंग विहान आएर बस्ने र बेलुका जाने गरेको छ । नजिकै आएर बस्ने यो ढुकुर उनको साथी बनेको छ। गुरुङका ३ जना छोराहरुमध्ये दुईजना कतार र कुवेतमा छन् । छोराहरुले राम्रो ध्यान नदिए पनि धनमाया वृद्ध पति र ढुकुरको रेखदेखमा छिन् । - स्रोतः हिमालय टिभी