पानी नपरेपछि मन्दिरमा पूजा
डोल्पा, २६ असार । यस जिल्लाको तल्लो भेगका त्रिपुराकोट,सुँ, लिकु, पाहाडा, रिमी, काइगाउँ, कालिका, नर्कुलगायतका दर्जनौं गाविसमा अझैसम्म पानी नपरेपछि जिल्लावासीले श्री बाला त्रिपुरा सुन्दरी मन्दिरमा पूजाउपासना सुरु गरेका छन् ।
पवित्र धर्म ग्रन्थ स्वस्थानीमा भनिएअनुसार सत्य युगमा महादेवले पत्नी सत्यदेवीको लास बोकेर पृथ्वी भ्रमण गर्दा डोल्पाको त्रिपुराकोट गाविसस्थित श्री बाला त्रिपुरा सुन्दरीको मन्दिरमा सत्य देवीको कन्ड्याउलो ढाड पतन भएको र यस स्थानमा मेघ वर्षा आई तपस्या गरी बरदान पाएको हो । यस स्थानमा पूजाउपासना गरे पानी पर्ने जनविश्वास छ ।
विगतमा पानी नपर्दा यसैगरी यस मन्दिरमा पूजाउपासना गर्दा पानी परेको इतिहास रहेको स्थानीयवासी परमानन्द देवकोटाले बताए ।
पानी पार्न बौद्धमार्गीहरूले पनि आफ्ना कुल देवता महाँकालको पूजाउपासना गर्ने गरेका र उनीहरूले विभिन्न बाजागाजा गरेर घना जङ्गलमा गई भूत जिस्काउनेसमेत गरेका छन् ।
लामो समयसम्म पानी नपरेपछि आफ्नो खेतमा लगाएको मकै, सिमीलगायतका बाली सबै नष्ट भएको त्रिपुराकोटकी स्थानीय कृषक भावना उपाध्यायले बताए ।
प्रकाशित मिति:
July 10, 2014