अध्यक्षमा नेपाल र ओलीको उम्मेदवारी दर्ता
काठमाडौँ, २६ असार । नेकपा (एमाले) को नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओलीले आज उम्मेदवारी दर्ता गरेका छन् ।
नेपालको प्रस्तावकमा नितेशनन्दन मिश्र र समर्थकमा रामकुमार भट्टराई तथा ओलीको प्रस्तावकमा कृष्णगोपाल श्रेष्ठ र समर्थकमा डा. राजन भट्टराई रहेका छन् । ओलीले पहिला उम्मेदवारी दर्ता गरएका हुन् ।
ओली समूहले उपाध्यक्षमा वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथ शाहलाई उठाएको छ । महासचिवमा ईश्वर पोखरेल यसअघि नै घोषित भइसक्नुभएको छ । उपमहासचिवमा विष्णु पौडेल र शङ्कर पोखरेल तथा सचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, केशवलाल श्रेष्ठ, पृथ्वी सुब्बा गुरुङ र रघुवीर महासेठ उठ्नुभएको छ । उम्मेदवारी दर्तापछि आज दिउँसो ओली समूहले पत्रकार सम्मेलन गर्नेछ ।
नेपाल समूहले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र एक स्थानलाई खाली राखी घोषणा गरेको छ । रिक्त एक उपाध्यक्षमा अध्यक्ष झलनाथ खनालसँग परामर्श गरेर परशुराम मेघी गुरुङ वा राजेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने तयारी भएको छ ।
यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल तथा सचिवमा वेदुराम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्यको नाम तय भएको छ भने बाँकी एक सचिवमा प्रकाश ज्वाला वा श्रीमाया थकालीले उठ्ने सम्भावना छ ।
केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आज बिहान १० देखि २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।
प्रकाशित मिति:
July 10, 2014