दसैँको पालो मिलाउन गएका कर्मचारीमाथि सात गोली लागेको पुष्टि

बिहीबार अज्ञात हतियारधारी समूहको गोली लागी मृत्यु भएका चौधरीलाई सात गोलीसँगै धारिलो हतियारसमेत प्रहार भएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिए ।
चितवन निकुञ्जले आज एक विज्ञप्ति जारी गरी घटनाबाट हतोत्साहित नहुन र संरक्षण कार्यमा अझ कडाइ गर्न अन्य कर्मचारीहरुसँग अपिल गरेको छ ।
सहायक संरक्षण अधिकृत थपलियाद्वारा जारी विज्ञप्तिमा चितवनको रत्ननगर निवासी निकुञ्जका सिनियर गेमस्काउट चौधरीको बायाँ पेटमा तीन, भुँडीमा एक, ढाडको दाहिने भागमा दुई र दायाँ कुममा एक गरी सात गोली र अनुहारको दुई ठाउँमा धारिलो हतियार प्रहार भएको अनुसन्धानमा पाइएको जनाइएको छ ।
निकुञ्जका कर्मचारीको दसैँ बिदाका लागि पालोपहरा मिलाउन जाने क्रममा चौधरीको हतियारधारी समूहको गोलीबाट मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।
निकुञ्जको माडीबगई सेक्टरबाट दिपानगर पोस्टतर्फ ना२६प ८८० नम्बरको मोटरसाइकलमा जाने क्रममा बिहीबार बिहान ९ बजे चौधरीमाथि गोली हानिएको थियो ।
उनीसँगै रहेका चितवन माडीका त्रिलोक महतो गोली लागेर गम्भीर घाइते छन् । उनको अहिले चितवनको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।
उनीहरुसँग रहेको रु २८ हजार र मोबाइललगायतका अत्यावश्यक सामग्रीसमेत लुटिएको अनुसन्धानबाट खुलेको थपलियाले बताए । घटनाबारे अनुसन्धान भइरहेको र गोली हान्ने समूह पहिचान नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
September 26, 2014