सेमेष्टर प्रणाली लागु गराउने निर्णयबाट त्रिवि पछि हट्यो
पुस २४– उपत्यका भित्रका आंगिक क्याम्पसहरुको स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली लागु गराउने निर्णयबाट त्रिभुवन विश्वविद्यालय पछि हटेको छ ।
भौतिक पुर्वाधार बिनै सेमेष्टर प्रणाली कार्यान्वयन गर्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले क्याम्पसहरुमा ताला लगाएपछि विश्वविद्यालय प्रशासन पुर्ववत निर्णयबाट पछि हटेको हो ।
बिहिबार विद्यार्थी संगठनका प्रतिनिधीहरु र विश्वविद्यालयका उपकुलपति नेतृत्वको टोलीबिचको वार्तामा आवश्यक पुर्वाधार विकास गरेपछि मात्रै सेमेष्टर प्रणालीलाई पुर्ण कार्यान्वयनमा लैजाने सहमति भएको हो ।
‘हामीले पुर्वाधारको बिकास नगरि सेमेष्टर प्रणाली कार्यान्वयन गर्दा शैक्षिक क्षेत्र थप तहसनहस हुन्छ भन्यौं अन्तत त्यहि सहमति भएको छ, यसपाली सेमेष्टर प्रणाली अघि बढ्दैन ।’ अनेरास्ववियुका शैक्षिक बिभाग प्रमुख सुदेश पराजुलीले भने ।
विद्यार्थी संगठनहरु र त्रिवि नेतृत्वबिच भएको सहमति अनुसार केहि दिन भित्रै बार्षिक प्रणाली अनुसार विश्वविद्यालयले स्नातकोत्तर तहको भर्ना फारम आव्हान गर्नेछ ।
यद्यपी विज्ञान संकाय र कानुन बिषयमा भने सेमेष्टर प्रणाली लागु हुनेछ ।
त्रिविले पाईलट प्रोजेक्टका रुपमा गत बर्ष देखि सेन्टर फर एक्सलेन्सका रुपमा त्रिवि केन्द्र र पत्रकारीता बिषयको स्नातकोत्तरमा सेमेष्टर प्रणाली लागु गरेको थियो ।
पाईलट प्रोजेक्टकै क्रममा समयमा नजिता प्रकाशन गर्न नसकेको, मार्कसिट प्रकासन गर्न नसकेको, कोर्ष अफ स्टडी समेत तयार पार्न नसकेको तथा शुल्क समेत महंगो असुलेको भन्दै विद्यार्थी संगठनहरुले बिरोध गर्दै आएका थिए ।
केहि पहिले मात्रै अनेरास्ववियुले पत्रकार सम्मेलन नै गरेर सेमेष्टर प्रणाली तत्कालका लागि कार्यान्वयन गर्न नदिने घोषणा गरेको थियो ।
त्रिवि नेतृत्वसँगको वार्तामा अनेरास्ववियु, नेबिसंघ, अखिल(क्रान्तिकारी) लगाएतका विद्यार्थी संगठनहरु सहभागी रहेका थिए ।
प्रकाशित मिति:
January 08, 2015