डिभिजन वानमा पुग्न नेपाललाई केन्या बन्यो तगारो
माघ ९ । आईसिसी वर्ल्ड क्रिकेट डिभिजन वान पुग्नका लागि नेपाललाई केन्या तगारो बनेको छ । नेपालले शुक्रबार केन्या बिरुद्धको खेलमा जित हासिल गरेको भए नेपाल विजेता वा उपविजेता बनेर डिभिजन वान पुग्ने निश्चित थियो । तर, केन्यासँग पाँच विकेटले हार बेहारेपछि वान डिभिजनको सपना चकनाचुर बनेको छ ।
नामिबियाको राजधानी विन्डहोकमा भएको सो प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको केन्याले नेपालले दिएको १९५ रनको चुनौतीलाई ३५ ओभरमा नै पूरा गर्दै विजयी भयो । केन्याले ३५ ओभरमा पाँच विकेट गुमाउँदै नेपालको चुनौतीलाई पूरा गरेको हो ।
नेपाल डिभिजन एकमा बढुवा नभएता पनि नेपाली क्रिकेट इतिहासमा भने ठूलै उपलब्धि हासिल गरेको छ । प्रतियोगितामा नेपाल शीर्ष चारभित्रै रहँदै डिभिजन दुईमा यथावत् रहन सफल भएको छ ।
त्यस्तै प्रतियोगितामा ६ अङ्क जोडेको नेपाल रनरेटका आधारमा डिभिजन एकमा प्रवेश गर्नबाट वञ्चित बनेको हो । समान ६ अङ्क नै जोडेको नेदरल्यान्ड्सले आज युगान्डालाई सात विकेटले पराजित गरेपछि नेपाल डिभिजन एकमा प्रवेश गर्नबाट वञ्चित बनेको हो ।
प्रतियोगितामा पहिले ब्याटिङ गरेको नेपालको ४९।५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल तयार गरेको थियो ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले तीन खेलमा जित तथा दुई खेलमा हार भोग्यो । प्रतियोगितामा सबैभन्दा अचम्मको कुरा त नेपालले सबैभन्दा शक्तिशाली मानिएको राष्ट्रलाई पराजित ग¥यो भने प्रतियोगितामा सबैभन्दा कमजोर मानिएको टिमसँग हार बेहोर्न पुग्यो ।
प्रतियोगिताको सबैभन्दा कमजोर मानिएको युगान्डासँग पहिलो खेलमा दुई रनले पराजित भयो भने चारपटक विश्वकप खेलिसकेको नेदरल्यान्डसमाथि २ विकेटले रोमाञ्चक जित निकाल्दै विजयी भएको थियो ।
त्यस्तै विश्वकपकै अनुभव बटुलिसकेको क्यानाडालाई ७ विकेट र आयोजक नामिबियालाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
प्रतियोगितामा नेपालले १८ रन जोड्दा तीन विकेट गुमाइसको थियो । नेपालले ३ रन बनाउँदा सुवास खकुरेल २ रन जोड्दै पहिलो विकेटका रुपमा आउट भए भने नेपालले १७ रन जोडद सागर पुनलाई दोस्रो विकेटका रुपमा गुमायो ।
त्यस्तै नेपालले थप एक रन जोड्दाजोड््दै नेपालले तेस्रो विकेटका रुपमा नरेश बुढाऐरलाई गुमायो । १८ रनमा नै धर्मराएको नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४८ रनको साझेदारी गर्दै नेपाली इनिङलाई केही समालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ९१ रनको योगदान दिएता पनि त्यो निरर्थक हुन पुग्यो । उनले ११६ बल सात चौकाको मद्दतमा ९१ रन जोडेका थिए ।
त्यस्तै ४६ बल खेलेका कप्तान खड्काले २० रन जोड्दै पेभिलियन फर्किएका थिए । नेपालका अर्का ब्याट्सम्यान शरद भेषवाकरले ४९ बलमा १८ रन जोडे भने २३ बल खेलेका विनोद भण्डारी १६ रन जोड्दै आउट भए । सागर पुनः १२, शक्ति गौचन ८, सोमपाल कामी ५ तथा बसन्त रेग्मीले ४ रन जोडे भने करण केसी रन नै नजोडी आउट हुन पुगेका थिए ।
त्यस्तै केन्याको जितमा भने इरफान करिमले सर्वाधिक ७५ रनको योगदान दिए भने आर आर पटेलले ५६ र ओबन्दाले ४५ रन जोेडेका थिए ।
प्रकाशित मिति:
January 23, 2015