ग्यास सिलिन्डर पाउन १५ दिन कुर्नुपर्ने
काठमाडौँ, १८ फागुन । ग्यास सिलिन्डर पाउनका लागि उपभोक्ताले १५ दिन बढी कुर्नु परिरहेको छ ।
कपिला रिसर्च इन्स्टिच्यु फर पोलिसी एक्सन नामक गैरसरकारी संस्थाले हालै गरेको सर्वेक्षणअनुसार ४७ प्रतिशत उपभोक्ताले ग्यास अभाव हुँदा मट्टीतेल प्रयोग गर्ने गरेका छन् । संस्थाले गरेको मतसर्भेक्षणअनुसार ग्यास अभाव हुँदा विद्युत् तथा सुक्खा खानेकुरा प्रयोग गर्ने उपभोक्ताको सङ्ख्या १५/१५ प्रतिशत रहेको छ । १४ प्रतिशत उपभोक्ता आफन्त वा साथीको भर पर्ने गरेका छन् ।
नयाँ सिलिन्डिरसहित ग्यास किन्ने उपभोक्ता १४ प्रतिशत तथा ग्यास किन्दा सिलिन्डर साट्ने उपभोक्ता २८ प्रतिशत रहेका छन् । त्यस्तै ५७ प्रतिशत परिवारसित एकवटा रित्तो सिलिन्डर तथा २१ प्रतिशत परिवारसित दुईवटा रित्ता सिलिन्डर रहेको सर्वेक्षणका क्रममा पाइएको छ ।
त्यस्तै सर्वेक्षणअनुसार एकदेखि दुईवटा सिलिन्डर प्रयोग गर्ने परिवार ६१ प्रतिशत, तीनदेखि चार सिलिन्डर प्रयोग गर्ने परिवार ३५ प्रतिशत तथा पाँचभन्दा बढी सिलिन्डर प्रयोग गर्ने परिवार चार प्रतिशत रहेका छन् । एक कम्पनीको सिलिन्डर प्रयोग गर्ने परिवार ४४ प्रतिशत, दुईवटा कम्पनीको सिलिन्डर प्रयोग गर्ने परिवार ४५ प्रतिशत र तीनवटा कम्पनीको सिलिन्डर प्रयोग गर्ने परिवारको सङ्ख्या ११ प्रतिशत रहेको छ ।
त्यस्तै ५४ प्रतिशत उपभोक्ताले वैकल्पिक ऊर्जाका रुपमा सोलारलाई रोजेका छन् । ३८ प्रतिशतले विद्युत् र आठ प्रतिशतले वायोग्यासलाई रोजेका छन् । ६५ प्रतिशत उपभोक्ताले ग्यास अभावको दोषी सरकारलाई ठह¥याएका छन् भने २० प्रतिशतले ग्यास डिलरलाई र १५ प्रतिशतले आयल निगमलाई दोषी ठह¥याएका छन् ।
ग्यास अभाव हुँदा उपभोक्ताले सामना गर्नुपरेका समस्याहरु, समस्याका कारण र समाधानका बारेमा उपभोक्ताको राय बुझ्न ‘कपिला रिसर्च इन्स्टिच्यु फर पोलिसी एक्सन’ ले गत फागुन ६ देखि फागुन १६ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँका कुल ४५० परिवारमा मतसर्वेक्षण गरेको थियो । काठमाडौँका ६६५ परिवार, ललितपुरका १९५, भक्तपुरका ७५ परिवार तथा अन्य ८५ परिवारमा मतसर्वेक्षण गरिएको उक्त संस्थाले जनाएको छ ।
प्रकाशित मिति:
March 02, 2015