सर्वोच्चका विरुद्ध खनिए ६ माओवादी
काठमाडौँ, २३ चैत । एकीकृत नेकपा माओवादी लगायत माओवादीका छ घटकले विस्तृत शान्ति सम्झौताको मूल मर्मविपरीत जाने छुट कोही कसैलाई नभएको भन्दै सोमबार राजधानीमा प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतले हालै विस्तृत शान्ति सम्झौताको भावना र मर्ममाथि नै प्रहार गर्ने गरी फैसला गरेको विरोधमा ६ माओवादी सडकमा उत्रिएका हुन् ।
बबरमहलबाट सुरु भएको प्रदर्शन, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै शान्ति बाटिकामा पुगेर सभामा परिणत भएको थियो । बबरमहलबाट सुरु भएको प्रदर्शनको नेतृत्व एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल र महासचिव रामबहादुर थापा, नेकपा माओवादीका संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापालगायतले गरेका थिए ।
जुलुसमा विस्तृत शान्ति सम्झौता लागू गर्न र त्यसको मर्म र भावनालाई आत्मसात् गर्न सरकार र माओवादी घटक दुवै बाध्य रहेकामा जोड दिइएको थियो । सर्वोच्च अदालतले गत फागुन १४ गते एक फैसलामार्फत सशस्त्र द्वन्द्वका समयमा भएका घटना अदालतमा विचाराधीन अवस्थामा सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्ने नमिल्ने बताएको थियो । सो फैसलाले शान्ति सम्झौताको मूल मर्म र भावनालाई आत्मसात् गर्न नसकेको भन्दै माओवादीले संयुक्त रुपमा विरोध गर्दै आएका छन् ।
शान्तिपूर्ण जुलुसपछि शान्तिबाटिकामा आयोजित सभामा एमाओवादीका महासचिव कृष्णबहादुर महराले तत्कालीन सरकार र माओवादीबीच भएको सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्ने दायित्व दुवै पक्षको रहेको भन्दै सर्वोच्च अदालतमार्फत शान्ति सम्झौताविरुद्ध गरिएको प्रहार आफूहरूलाई क्षम्य नभएको बताए ।
नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङ र ले शान्ति सम्झौता राजनीतिक सम्झौता भएकाले त्यसलाई नियमित अदालतले हेर्न नसक्ने धारणा राखे । सशस्त्र द्वन्द्वका समयमा भएको गम्भीर मानवअधिकारको उल्लङ्घनका नाममा दैलेख, कैलाली, बाजुरा, चितवनलगायत जिल्लामा माओवादीका नेता तथा कार्यकर्ता पक्राउ गरिएको भन्दै उनले राजनीतिक विषयलाई अपराधीकरण गर्ने काम नगर्न सरकारलाई ध्यानाकर्षण गराए ।
नेकपा माओवादीका संयोजक यादवले माओवादीहरू अब पनि छुट्टाछुट्टै बस्ने हो भने कोही पनि बाँकी नरहने बताए । कार्यक्रममा नेकपा माओवादीका नेता सन्तोष बुढा मगर र नेकपा एकीकृतका नेता सीताराम तामाङले शान्ति सम्झौताको भावनाविपरीत जाने छुट सत्तारुढ दललाई नभएको बताए ।
शान्ति सम्झौताका पक्षमा लालटिन
शान्तिबाटिकामा एमाओवादी अध्यक्ष दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरू विस्तृत शान्ति सम्झौताको पक्षमा रहेको तर सत्तारुढ दलले त्यसको मर्म र भावना विपरीत काम गरेको भन्दै लालटिन बालेर विरोध गरेका थिए ।
यस्तै शान्ति सम्झौताको मर्म र भावना विपरीत सरकार गएको भन्दै अध्यक्षद्वयले कालो टोपी लगाएका थिए । रासस
प्रकाशित मिति:
April 06, 2015