बाबुरामले आफ्नो इज्जत जोगाएनन् : खगेन्द्र संग्रौला (भिडियो पनि)
भदौ १६ – बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो इज्जत जोगाउन नसकेको टिप्पणी गरेका छन् ।
विद्यार्थी पत्रकार समूहको हरेक शनिबार बिहान आर आर क्याम्पसमा हुने साप्ताहिक अन्तरक्रिया कार्यक्रममा लेखक संग्रौलाले बाबुरामले सडक विस्तार गर्नु र जेठ १४ गते संविधानसभा विघटनसँगै नयाँ निर्वाचन तोक्नु मात्रै राम्रो काम भए पनि अरु दर्जनौँ नराम्रा काम उनीबाट भएको जनाएका हुन् ।
कार्यक्रममा उनले संघीयताले देश टुक्रन्छ भन्नु भ्रम फिजाउने काम मात्रै भएको भन्दै संघीयताले नेपाललाई नबिगार्ने दाबी समेत गरेका छन् ।
एक मधेस एक प्रदेश भन्दा पनि बहु मधेस बहु प्रदेशमा राज्य विभाजन हुनुपर्ने र त्यसो भएमा संघीयताले देश नटुक्रने उनको भनाई छ ।
विद्यार्थीहरुका माझ उनले मुलुक परिवर्तनको क्रममा रहेका बेला राजनीतिक संक्रमण स्वभाविक भएपनि यो लामो समयसम्म रहेमा देशका लागि घातक हुने समेत औल्याएका छन् । दलहरुले यसलाई चाँडै टुंगोमा पुर्याउने पर्ने उनको भनाई छ ।
तपाई चाँही कुन पार्टीमा आवद्ध या विचारधाराको हो नि भन्ने प्रश्नमा संग्रौलाले आफू सुरुदेखि नै राजनीतिमा लागेपनि अहिलेसम्म कुनै पार्टीको सदस्य समेत नलिएको स्पष्ट पार्दै आफू परिवर्तन, उत्पिडीत पक्षका पक्षका रहेकाले जुन पार्टीले यस्ता मुद्धालाई उठाउँछन् उसैसँग आफू नजिक रहने जनाए ।
विद्यार्थीहरुलाई उनले लेखन र पठनका विषयमा धेरै कुराहरु समेत सिकाएका थिए सो अवसरमा उनले पढ्दामा आफू को हो केका लागि पढ्ने भनेर त्यही अनुसारका पुस्तकहरु पढ्नुपर्ने बताए भने लेखनका विषयमा भने निरन्तर लेखिरहेमा सानो ठूलो पक्कै पनि लेखक बन्ने जनाए ।
भिडियो हेर्नुहोस
प्रकाशित मिति:
September 01, 2012