सञ्चार सहित दुई मन्त्रीको खुस्की सकेको मन्त्री पद यसरी जोगियो
काठमाडौं ७ माघ
प्रधानमन्त्री प्रचण्डले बिहीबार मात्र साना दलबाट दुई मन्त्री विस्तार गरेका छन् । प्रचण्डको योजना राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि सरकारमा ल्याउने थियो । तर, बरियताक्रम र मन्त्रालयको बागबन्डामा केही कुरा नमिल्दा मात्रै उनीहरु सरकार बाहिर रहनु पर्यो । उनीहरु सरकारमा नआएकै कारण सुचना तथा सञ्चारमन्त्री राम कार्की र परराष्ट्र मन्त्री प्रकाश शरण महतको पद भने जोगिन आएको बुझिएको छ ।
यसरी जोगियो पद
स्रोतका अनुसार गच्छदारले उपसहित भौतिक पूर्वाधार र सञ्चार मन्त्रालयमध्ये एक माग गरेका थिए । यता, थापाले भने उपसहित परराष्ट्र वा स्थानीय विकास तथा संघीय मामिला मन्त्रालय माग गरेका थिए । कांग्रेस परराष्ट्र मन्त्रालय छाड्न सकरात्मक देखिएको छ । कांग्रेसले परराष्ट्र छाडेपछि उसैको कोटामा रहेको भौतिक मन्त्रालय उसले नछाड्ने भएपछि माओवादीले सञ्चार मन्त्रालय गच्छदारलाई दिने मनस्थितिमा पुगेको थियो । सञ्चारमन्त्रीको काम सन्तोषजनक नभएको भनेर आलोचना भईरहेको र स्थानीय विकास मन्त्रालय चुनावको मुखमा नछाड्दा नै राम्रो हुने सोचेर माओवादीले सञ्चार मन्त्रालय नै दिने सोचमा पुगेको थियो । तर प्रधानमन्त्रीपछिको उपप्रधानमन्त्री आफूहरु हुनुपर्ने गच्छदार र थापाको अडान एउटा कारण उनीहरु सरकारमा आउन बाधक बनेको थियो ।
त्यसो त कांग्रेसका केही नेताहरु गच्छदार र थापालाई अर्को सरकारमा समावेश गराउने तर सोही पार्टीबाट अन्यलाई सरकारमा सहभागी गराउ भन्नेमा पनि थिए । यद्यपी थापा र गच्छदार नै सरकारमा आउन मन भएपछि उनीहरुलाई मिलाउने विषयमा छलफल चलिरहेको छ । बिहीबार कुरा नमिल्दा सञ्चार मन्त्री र परराष्ट्र मन्त्रीको भने पद जोगिन पुगेको थियाे ।
प्रकाशित मिति:
January 20, 2017