धुमुर्स र सुन्तलीद्वारा एकीकृत बस्तीको शिलान्यास
रमेश तिमलसिना
धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कटेल धुर्मुसको जन्मोत्सवको अवसरमा रौतहटको चन्द्रपुर–८ मा एकीकृत नमुना सन्तपुर बस्ती परियोजनाको बुधबार शिलान्यास भएको छ । चौथो परियोजनाको रूपमा रहेको सन्तपुरमा फाउन्डेसनका अध्यक्ष कटेल,उपाध्यक्ष कुञ्जना घिमिरे र स्थानीय ९६ वर्षीया रामकलीदेवीले संयुक्त रूपमा सो परियोजनाको शिलान्यास गरेका हुन् ।
धुर्मुस सुन्तली फाउडेसनले करिब ५ करोड ७५ लाखमा रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती निर्माण गर्ने भएको हो । चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरको दलित बस्तीमा धुर्मुस सुन्तली फाउन्डेसनले बाढीपीडितहरूका लागि राहत वितरण सँगै नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको हो । स्थलगत अध्ययन र अवलोकनपश्चात् फाउन्डेसनले दलित बस्तीमा एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गर्ने घोषणा गरेको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २ सय ८० जनाको संख्यामा मानिसहरू बसोबास गरिरहेका छन् ।
बस्तीमा माझी, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरूको बसोबास रहेको छ । बाढीका कारण पूरै घर डुबानमा परेपछि नाजुक अवस्थामा रहेको दलित समुदायका बासिन्दाको सामाजिक तथा आर्थिक अवस्थासमेत दयनीय रहेको थियो । बस्तीका अधिंकाश अशिक्षित र बेरोजगार भएकाले अभिभावकले बालबालिकाहरूलाई विद्यालय नपठाउने गरेका हुन् । विपन्न वर्गका दलित समुदायको घर पनि बाढीले भत्किएपछि समस्यामा परेको सो समुदायका अगुवा सत्यनारायण माझी बताए । फाउन्डेसनले निर्माण गर्ने एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भूकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्डअनुसार दुई तलाको चारवटा कोठा हुने गरी एक शौचालय, धारा र बगैंचासमेत निर्माण गरिने छ । बस्तीभित्र ४५ वटा आवासीय घर, एक मन्दिर, सार्वजनिक धारा र शौचालयहरू, सामुदायिक भवन, पाहुना घर र पूरै बस्ती अवलोकन गर्ने भ्यु टावरको निर्माण गरी आकर्षक र सुविधा सम्पन्न बस्ती निर्माण गरिने धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ । यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले तीनवटा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको छ ।
पुनर्निर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउँका भूकम्पपीडित २० परिवारका लागि भूकम्पप्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भूकम्पपीडित तामाङ गाउँमा ६६ आवासीय घर तथा महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकीकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरिसकिएको छ । सन्तपुरको परियोजना आउँदो माघ २४ गतेभित्र समुदायलाई हस्तान्तरण गरिसक्ने फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले जानकारी दिइन् । -राजधानी दैनिकबाट
प्रकाशित मिति:
September 22, 2017