साउन १५ । बुढेसकालमा पालनपोषण गर्ला भनेर आफूले खाइनखाइ हुर्काएको छोराले नै घरनिकाला गरेपछि ६५ वर्षीया वृद्धा पीडित बनेको छ ।
रौतहटको सिम्रा भवानीपुर– ४ घर भएकी ६५ वर्षीया वृद्धा दुखानी देवीले न्याय मान्दै प्रहरीमा निवेदन दिएकी छन् । प्रहरी कार्यालयमा न्याय माग्न आएकी दुखानी देवीले भनिन्– “छोराबुहारीले खान दिँदैनन्, कुटपिट गर्छन्, घरबाट निस्केर जा भन्छन्, मेरो नाममा भएको सात कट्ठा जमिन पनि झुक्याएर पास गरेछन् ।” छोरा सानै हँुदा श्रीमान् बितेपछि एउटै छोराको साहारामा बसेकी दुखानी देवीले घरमा बस्ने वातावरण मिलाइ दिन प्रहरीसँग गुहारेका छन् ।
नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्र रौतहटमा गत आर्थिक वर्षमा पाँच जना वृद्धवृद्धाले छोरा नातिले खान नदिएको, कुटपिट गरी घर निकाला गरेको निवेदन दिएका छन् ।
आव ०६९÷०७० मा सेवा केन्द्रमा परेका घरेलु हिंसाका ११३ वटा उजुरीमध्ये सबैभन्दा बढी ७९ महिला पतिबाट पीडित भएको उजुरी परेको थियो ।
तथ्याङ्कअनुसार कुटपिटबाट ४२ जना र खान लाउन नदिइ परिवारका सदस्य तथा श्रीमान्बाट घर निकाला गरिएको ५१ जना महिलाले निवेदन दिएका थिए ।
घरभित्रै लुकेर बसेका घटनाहरू सार्वजनिक भएको र महिलाहरूमा हिंसा सहेर बस्नु हँुदैन भन्ने चेतना आएका कारण पनि उजुरीको सङ्ख्या बढी देखिएको महिला तथा बालबालिका सेवा केन्द्र सञ्जालका अध्यक्ष बिपीन गौतमको भनाइ छ ।
Powered by Blogger.
'छोराबुहारीले खान दिँदैनन्, कुटपिट गर्छन्, घरबाट निस्केर जा भन्छन्'
प्रकाशित मिति:
July 31, 2013