तीन दिनभित्र आयोगमा निवेदन नदिए समानुपातिकमा दलहरुले भाग लिन नपाउने
काठमाडौं २५ भदौ
निर्वाचन आयोगले आगामी मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि समय तोकेको छ ।
आयोगले आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार दुई चरणमा एकै साथ हुने प्रदेश र संघको निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचनमा भाग लिने दलहरुलाई आगामी भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन पेश गर्न आग्रह गरेको हो । उक्त समयमा निवेदन दिन छुटाउने दलहरुले दुई चरणको निर्वाचनमा प्रदेश र संघको निर्वाचनमा समानुपातिकतर्फ निर्वाचनमा सहभागिताबाट वञ्चित हुने आयोगले जनाएको छ ।
आयोग प्रवक्ता नवराज ढकालले निर्वाचन आयोगमा दर्ता रहेका दलहरुलाई समानुपातिकतर्फ निर्वाचनमा सहभागी हुन चाहने दलहरुलाई दर्ताका लागि अनुरोध गरिएको बताए । ‘यसअघि दलहरुले निर्वाचनमा चुनाव चिह्नका लागि दल दर्ता गरिसकेका छनु, प्रवक्ता ढकालले भने, ‘कुनै कक्षामा सहभागी सबै विद्यार्थीले परिक्षामा सहभागी हुन्न भन् पनि सक्छन्, त्यस्तै दर्ता रहेका दलहरुले समानुपातिकतर्फ कुनै ठाउँ वा कहीँ भाग लिन्न भन्ने पनि हुन्छन्, निर्वाचनमा भाग लिन चाहनेहरुलाई भने निवेदन दिन अनुरोध गरिएको हो ।
दलहरुले दिएको निवेदन र आयोगले दलहरुलाई प्रदान गरेको चुनाव चिह्नको आधारमा मतपत्र छापिने भएको छ । निर्वाचनको तयारी स्वरुप व्यवस्थापिकय तथा प्राविधिक पक्ष मिलाउन आयोगले सूचना जारी गरेर निवेदन दिन आग्रह गरेको हो ।
आयोगका अनुसार निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो भन्ने समेत स्पष्ट खुलाउनु पर्नेछ ।
प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खासखास प्रदेशमा मात्र भाग लिने हो उक्त विषय समेत स्पष्टरुपमा खुलाएर सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी बुझाउन आयोगले अनुरोध गरेको छ ।
आयोगले तोकेको समय २५ देखि २७ गतेभित्र निवेदन पेश नगर्ने राजनीतिक दल समानुपातिक निर्वाचनमा सहभागि हुन वञ्चित हुने भएका छन् ।
आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले दलहरुले दिएको निवेदनको आधारमा नै समानुपातिकतर्फ मतपत्र छापिने बताए । कुनै दलले २५–२७ भदौमा निवेदन नदिए उक्त दलको चुनाव चिह्न मतपत्रमा नसमेटिने र उक्त दल समानुपातिकतर्फ निर्वाचनमा सहभागी हुनबाट वञ्चित हुने उनको भनाई छ ।
प्रकाशित मिति:
September 10, 2017