‘भकारी फोर’ आन्दोलनका अग्रणी नेता गुरुङको निधन
काठमाडौं २३ असोज
पुराना वामपन्थी नेता हिरा बहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ ।
खोटाङस्थित साकेला गाउँपालिका १ च्यानडाँडा निवासी गुरुङको उपचारका क्रममा सोमबार वीर अस्पतालमा निधन भएको हो । दम रोगबाट उनी केही वर्षदेखि बिरामी थिए ।
उनको सोमबार नै स्वयम्भूमा आफ्नै संस्कार अनुसार अन्येष्टि गरिएको छ । उनको पार्थिव शरिरमा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य लिलामणी पोखरेलले पार्टीको झण्डा ओढाएका थिए । श्रद्धाञ्जली सभामा माओवादी सचिवालय सदस्य टंक राई, पूर्वसभाषदद्धय अस्मिता कार्की, रामकुमार राई, खोटाङ जिल्ला संयोजक पृथ्वी राई लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । गुरुङ भकारी फोर आन्दोलनका अगुवा थिए । यस्तै किसान आन्दोलनमा संगिठत हुँदै नेकपा चौथो महाधिवेशन सदस्य बनेका उनी एकता केन्द्र मसालका जिल्ला सदस्य, संयुक्त जनमोर्चाका जिल्ला अध्यक्ष हुँदै पछिल्लो समय नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रुपमा थिए ।
असल र मिलनसार व्यक्तिका रुपमा परिचित उनी खोटाङबाट नै राजनीति गर्दै आएकोमा स्वास्थ्य समस्याका कारण केही वर्ष अघिदेखि भने काठमाडौंमा बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन् ।
प्रकाशित मिति:
October 09, 2017