'जनताले चाहे दुई तिहाइ मार्फत मुकाम परिवर्तन हुनसक्छ' :माओवादी प्रवक्ता भुसाल
काठमाडौँ, ४ माघ
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले सरकारले प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने विषयमा आफ्नो पार्टीसंग कुनै छलफल नगरेको बताएकी छिन् । रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले सरकार र माओवादीविच स्थायी मुकाम तोक्ने विषयमा छलफल नभएको बताउँदै जनताको आवश्यक देखेमा दुई तिहाइको प्रक्रियाबाट मुकाम परिवर्तन गर्न सकिने बताएकी हुन् ।
प्रवक्ता भुषालले नेकपा एमालेसंगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भए पनि एउटै पार्टीका नेता हुने विचार व्यक्त गरिन्। दुवै दलका अध्यक्षलाई पार्टी एकता गर्न दिइएको जिम्मेवारी अब चाँडै पूरा हुने उहाँको भनाइ थियो ।
भुसालले भनिन्, “जनताले दुवै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन्, जनादेशअनुसार एकता र सरकार गठन हुन्छ ।” मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनावअगावै निर्माण गरिएको वाम गठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने उनले बताईन ।
प्रकाशित मिति:
January 18, 2018