ग्यास विक्री गरेवापत पाउने कमिसन वृद्धि गर्न बिक्रेता महासंघको माग
काठमाडौँ, २३ पुस
ग्यास बिक्रेता महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले प्रधानमन्त्री देउवालाई भेटी ग्यास डिलरले हाल पाउँदै आएको रु ३२ को कमिसनलाई ६७ पु¥याउनुपर्ने माग गरेको हो ।
प्रधानमन्त्री कार्यालय बालुवाटार पुगी महासंघमा आबद्ध बिक्रेताहरुले ग्यासका क्षेत्रमा पछिल्लो समय देखिएका समस्या र यसको समाधानको उपायबारेको सुझावसहित ज्ञापनपत्र बुझाएको हो ।
ग्यासमा लगाउँदै आइएको मूल्यअभिवृद्धि कर (भ्याट) व्यवसायीले फिर्ता पाउने भएकाले त्यसलाई खारेज गरेर उपभोक्तालाई राहत दिनुपर्ने माग गरको अध्यक्ष अर्यालले बताएका छन्। सरकारले ग्यासमा १३ प्रतिशत भ्याट लगाउँदै आएको छ ।
अर्यालले विराटनगर तथा वीरगञ्जमा ग्यासको मूल्य उपत्यकाको भन्दा रु ५० कमी हुनुपर्ने माग गरेका छन्। काठमाडौँमा ढुवानीमा बढी खर्च लाग्ने भएकाले सोही बराबरको मूल्य सीमा क्षेत्रका शहरमा हुन नहुने महासंघको तर्क छ ।
महासंघका महासचिव चन्द्र थापा भन्छन्, 'हामी निरन्तररुपमा व्यवस्थित बजार र आत्मनिर्भर कारोबारको निम्ति लागिरहेको छौं । सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गर्नु राम्रो होईन । अहिलेको मूल्यवृद्धि पश्चात् पनि आफूहरुको कमिसन नबढ्ने हो भने आफूहरु बाध्यतावश देशभरबाट नै एकैपटक आन्दोलनमा होमिनुपर्ने अवस्था आउन सक्छ । '
उक्त मागका बारेमा प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसँग छलफल गरेर निर्णय लिने बताएका छन् ।
प्रकाशित मिति:
January 07, 2018