असार १३ – यसअघि प्रमाणपत्र तहबाटै अनिवार्य रुपमा पढेमा मात्रै स्नातक तहमा भर्ना गर्न पाइने आम सञ्चार तथा पत्रकारिता विषय अब भने एकैचोटी स्नातक तहमा गएर मात्रै पनि पढ्न पाइने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा पत्रकारिता विषय खुला गरेको हो ।
आउँदो शैक्षिक सत्रबाट लागू हुनेगरी त्रिवि एकेडेमिक काउन्सिलले निर्णय गरेको हो ।
यसअघि प्रमाणपत्र तह वा प्लस टुमा पत्रकारिता पढेकाले मात्र यो विषय पढ्न पाउने व्यवस्था रहेको थियो ।
एकेडेमिक काउन्सिलको निर्णय अनुसार अब पत्रकारिताका अतिरिक्त अंग्रजी, कला, नेपाली लगायत मानविकी संकायका सबै विषयमा स्नातक तहमा भर्ना पाउने भएका छन् ।
मानविकी संकायमा विद्यार्थी घट्दै गएकाले विद्यार्थी संख्या बढाउन स्नातक तहमा सबै विषय खुला गरिएको बुझ्नमा आएको छ ।
‘जुनसुकै सबै संकायबाट दस जोड दुई उर्तीण गरे पनि मानविकी संकायअर्न्तगत स्नातक तहमा विद्यार्थी भर्ना गर्न पाउने निर्णय भएको मानविकी संकायका डिन डा. ताराकान्त पाण्डेले बताए ।
त्रिविले यसअघि फरक संकायबाट स्नातक तहमा पत्रकारिता विषय पढ्न चाहनेले दसजोड दुई तहको पत्रकारिता पढ्नुपर्ने प्रावधान राखेको थियो भने अहिले उक्त प्रावधान समेत हटाएको छ ।