साउन १२ – समाजले नकारात्कम दृष्टिले हेर्ने र बदनाम होइने डरले यहाँका एचआइभी सङ्क्रमितहरुले परिचय खुलाउने गरेका छैनन् ।
जिल्लामा १२ जनाभन्दा बढी एचआइभी सङ्क्रमित भएको भए पनि समाजले हेर्ने दृष्टिकोण परिवर्तन नभएकाले उनीहरुले आफ्नो पहिचान लुकाउने गरेका हुन् ।
जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक अस्पताल ओखलढुङ्गाले सङ्क्रमितको स्वास्थ्य परीक्षण गर्ने भए पनि जिल्ला अस्पतालमा भने हालसम्म कसैले पनि परीक्षण गराएका छैनन् । एचआइभी परीक्षण गर्नकै लागि दुई वर्षदेखि भिसिटी केन्द्र सञ्चालन भए पनि अहिलेसम्म केन्द्रमा स्वास्थ्य परीक्षण गराउन कोही पनि नआएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक पवन लामाले जानकारी दिए ।
“पहिचान खुल्ने डरले हुनसक्छ, कोही पनि परीक्षण गराउन आएनन्”–लामाले भन्नुभयो । लामाका अनुसार जिल्लामा परीक्षण गरेर उपचाररत सङ्क्रमित १२ जनाभन्दा बढी भएको अनुमान गरिएको छ ।
सङ्क्रमितमध्ये ओखलढुङ्गाकी एक महिलाले मात्रै आफ्नो परिवार एचआइभी सङ्क्रमित भएको खुलेर बताएकी छिन् । ओखलढुङ्गा गाविस–९ की शारदा राईले श्रीमान् विदेशमा हुँदा सङ्क्रमित भएकाले आफू र बच्चासमेत सङ्क्रमित भएको बताएकी हुन् ।
आफूले धरानबाट ल्याएर नियमित औषधि सेवन गरेकाले अहिलेसम्म स्वास्थ्यमा समस्या नरहेको उनले बताइन् । राईले सङ्क्रमितलाई पहिचान खुलाउन र समान र विभेदरहित तरिकाले बाँच्ने वातावरण मिलाउन पहल गरे पनि अरूले नमानेको बताइन् ।
सामुदायिक अस्पतालले सङ्क्रमितको तथ्याङ्क सङ्कलन गरे पनि यकिन सङ्ख्या सार्वजनिक गरेको छैन । सङ्क्रमितको परिचय गोप्य राख्नुपर्ने भएकाले सार्वजनिक गर्न नमिल्ने सामुदायिक अस्पताल सोब्रुका निर्देशक टुकबहादुर हरिजनले बताए ।
अस्पतालले एचआइभी सङ्क्रमितको स्वास्थ्य परीक्षण गरे पनि सङ्क्रमणको किसिम मात्रै जानकारी गराएकाले यकिन सङ्ख्या नभएको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख ज्ञानबहादुर बस्नेतको भनाई छ । रासस