साउन ३० – आफ्नो इच्छाविपरीत १४ वर्षकै उमेरमा जबर्जस्ती बिहे गराइदिएपछि पीडित बालिका घरेलु हिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्र सल्लेरीको शरणमा आइपुगेकी छिन् ।
आफूभन्दा दोब्बर उमेरका सल्यान सोलुका फुर्वारिन्जी शेर्पासँग विवाह गराइदिएपछि पीडित याङ्जी शेर्पा शरणका लागि सेवा केन्द्रमा आइपुगेकी हुन् ।
भूमेश्वरी निम्नमाध्यमिक विद्यालय ख्याम्पुमा अध्ययनरत याङ्जीलाई आफ्नै भाउजूका भाइलाई बन्धक बनाएर विवाह गराएको र त्यसमा आफ्नो आमाबुबाको पूर्ण सहमति भएका कारण बुबाआमामाथि समेत आवश्यक कारबाहीको माग गरेकी छिन् ।
दाइभाउजुको विवाहमा जाँदा आफूलाई तीन दिनसम्म कोठामा थुनेर बन्धक बनाएको र उता बुबाआमाले भने सोही समयमा उनलाई माग्न भनी राखेको रक्सी खाएर स्वीकृति दिएको पीडित याङ्जीले बताइन् ।
‘मलाई केटाको घरमा थुनेर कहीँ जान दिएनन्, उता रक्सी लगेर आमाबुबासँग मेरो मगनी गरेछन् र आमाबुबाले उक्त रक्सी स्विकारेका रहेछन्’ घरेलुहिंसा प्रभावितका लागि सेवा केन्द्रमा आएकी याङ्जीले मनको पीडा पोखिन् ।
शेर्पा, किरात तथा तामाङ जातिमा छोरी माग्नका लागि रक्सी लाने चलन छ । उक्त रक्सी घरका मूलीले स्विकारेमा छोरी दिएको भन्ने अर्थ लाग्छ ।
पढ्दापढ्दै जबर्जस्ती विवाह गराइदिएपछि उनले पढाइ समेत छाडेकी छिन् ।
बुबा मिग्याल्जेन र आमा दाछोकीकै कारण याङजीको पढ्न पाउने अधिकार खोसिएकाले उनीहरुलाई झिकाई पुनःस्कुल भर्ना गराउन पहल गरिने सेवा केन्द्रका जिल्ला सहजकर्ता मिङ्मार डोमा तामाङले बताए ।