भदौ ७ – भाइरल ज्वरोको प्रकोप बढेपछि नवलपरासीको मैनाघाटमा दुईवटा विद्यालय बन्द गरिएको छ ।
एक हप्तादेखि सामान्य रुघाखोकी देखिएको यहाँ भाइरल ज्वरोले विद्यार्थी थलिन लागेपछि विद्यालय नै बन्द गर्नु परेको हो ।
स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहँुदा उपचारमा समस्या भएपछि भाइरल ज्वरोले माहामारीको रुप लिन लागेको भन्दै गाउँमा चिन्ता छाएको छ ।
विद्यार्थीहरू विद्यालय आउन नसक्ने देखिएपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको सरस्वती उच्चमावि मैनाघाटका प्राचार्य कृष्ण तिवारीले जानकारी दिनुभयो । ज्वरोले गर्दा यहाँको एक उच्च मावि र एक निजी स्कुल बन्द भएका छन् ।
विद्यार्थीहरू ज्वरोले थलिन लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा र मैनाघाट उपस्वास्थ्य चौकीको संयुक्त सहयोगमा विद्यालयले स्वास्थ्य शिविर राखेको छ । बिहान ७ बजेदेखि सुरु भएको स्वास्थ्य शिबिरमा सय जनाको उपचार भइसकेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चोरमाराकी अनमी अनिता राई र अहेब भीम ढेङ्गामगरले बिरामीको जाँच गरेका छन् ।
गाउँलेले विशेषज्ञसहितको शिविरको माग गरे पनि जिल्ला स्वास्थ्य कार्यालयले सो सेवा नदिएको गुनासो उनीहरूले गरेका छन् । यहाँ छ–सात सयको सङ्ख्यामा विद्यार्थी बिरामी परेका छन् ।