भदौ ८ – तपाई आफूलाई मन परेको केटीसँग विवाह गर्न के गर्नुहुन्छ नि । विभिन्न वहाना गर्नुहुन्छ हुन्छ होला, फकाउनु हुन्छ होला आदि इत्यादी । तर रुपेन्देहीका एक जना युवक भने नक्कली डाक्टर समेत बन्न भ्याएका छन् ।
तर त्यसरी नक्कली डाक्टर बनेर बिरामीको उपचारको बहाना गर्ने ती युवक दुई सहयोगीसहित अहिले भने प्रहरी नियन्त्रणमा छन् ।
रामग्राम–५ नवलपरासी घर भई बुटवलको देविनगर डेरा गरि बस्ने २२ वर्षीय लक्ष्मण शर्मा र उनका सहयोगीहरु रोल्पा घर भई बुटलकै देविनगर बस्ने मोतिराम विक र देविनगरकै भिमा कुंवर नक्कली डाक्टरी क्रियाकलाप गर्न थालेपछि प्रहरी खोरमा पुगेका हुन् ।
पक्राउ परेका मध्ये शर्मा नक्कली डाक्टर बनेर देवदह मेडिकल कलेजमा उपचारका लागि बिरामीहरुको स्वास्थ्य जाँच गर्न सक्रिय रहेका थिए ।
त्यस्तै विक भने शर्माको सहयोगिका रुपमा मेडिकल कलेज गएका थिए । विक लुम्बिनी अञ्चल अस्पतालको ल्याब टेक्निसियन रहेको बताइएको छ ।
शुरुमा बिरामी बनेर मेडिकल कलेजमा छिरेका उनीहरु डाक्टरको पोशाक लगाई ब्ल्डप्रेसर नाप्ने उपकरणसहित अन्य विभिन्न उपकरण लिएर बिरामी उपचार गर्ने वार्डहरुमा छिरेर स्वास्थ्य जाँज गर्न थालेपछि त्यहाँ कार्यरत कर्मचारी तथा नर्सहरु अलमल्ल परेका थिए । अस्पतालमा नयाँ डाक्टर आएको बारेमा सोधखोज गर्दा कोही नआएको भन्ने जानकारी आएपछि नक्कली डाक्टर भएको आशंकामा अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।
लगत्तै वडा प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि सञ्चारकर्मीका माझ शर्माले आफूले बिहेका लागि नक्कली डाक्टर बनेको स्विकार गरेका थिए । प्रहरीले शर्माले जम्मा दश कक्षा सम्म अध्ययन गरेको जनाएको छ ।