केसीको ६ दिने आमरण अनसनको दबाबको प्रभाव, बच्यो भागबन्डाको सिकारबाट त्रिवि
भदौ २ – प्रा.डा. गोविन्द केसीले झन्डै आफ्नो ज्यान दिएर भएपनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई राजनीतिको भाडो बनाउनबाट बचाएका छन् ।
केसीको ६ दिने आमरण अनसनको दबाबको प्रभावमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको डीनमा डाक्टर प्रकाश सायमी नियुक्त भएका छन् ।
सरकारको निर्देशनमा त्रिविले उनलाई डिनमा नियुक्त गरेको हो ।
यसअघि लगातार चारदिनदेखि त्रिविलाई राजनीतिमुक्त बनाउन भन्दै प्रा.डा. गोविन्द केसी आमरण अनसनमा बसेका थिए ।
उनको आन्दोलनलाई साथ दिँदै आज नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।
सरकारले वरिष्ठतालाई छाडेर राजनीतिक भागबन्डाका आधारमा डिन नियुक्त गर्न लागेपछि त्रिवि बचाउन भन्दै प्रा. डा. केसी आमरण अनसनमा बसेका थिए ।
प्रा. डा. केसीले उठाएको मुद्धामा सहमति जनाउँदै शिक्षण अस्पतालमा चार दिनदेखि चिकित्सकहरुले आकस्मिक बाहेक सबै सेवा ठप्प पारेका थिए भने आज नेपाल चिकित्सक संघले देशैभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गरेका थिए ।
अब, त्रिविमा बरिष्ठताका आधारमा सायमीलाई नियुक्त गरिएसँगै केसीले अनसन तोडेका छन् भने चिकित्सकको आन्दोलन पनि फिर्ता भएको छ ।
प्रकाशित मिति:
August 18, 2012