भदौ २ – जिल्ला वन कार्यालय सोलुखुम्बुमा रहेका दुईवटा घोडा मरेपछि कार्यालयको कामकाज प्रभावित भएको छ ।
रोगी र बूढो भएर २०६२ सालमै दुवै घोडा मरे पनि कार्यालयले अर्को घोडा व्यवस्था गर्न नसक्दा काम प्रभावित हुँदै आएको हो ।
घोडा नहुँदा आकस्मिक काममा लक्ष्य अनुरुपको काम गर्न नसकेको जिल्ला वन अधिकृत चन्द्रदेवलाल कर्णले बताए ।
विशेषगरी वनसम्बन्धी उजुरी आई तत्काल वन गस्ती गर्नु परेमा घोडा नहुँदा आरोपी भागिसक्दा मात्र सो स्थानमा वन कर्मचारी पुग्ने गरेको सो कार्यालयको दुखेसो छ ।
“वनमा जथाभावी रूख काटिँदैछ भन्ने उजुरी आउँछ, दुई दिन धाएर सो स्थानमा पुग्दा रूख काटेर कता पु¥याइसकेको हुन्छ, घोडा भएमा त तत्काल त्यसलाई पक्राउ गरी आवश्यक कारबाही गर्न सकिन्थ्यो नि ?” अधिकृत कर्णले भने ।
“एक त हामीसँग कर्मचारी पूरा छैनन्, सीमित रेन्जरले सबै गाविसमा रहेका वन अनुगमन निरीक्षण गर्न त के, कार्यालयको काम गर्नसमेत धौधौ पर्छ”– कर्मचारी अभावमा आएको समस्या दर्शाउँदै अधिकृत कर्णले बताए ।
कार्यालयले पटकपटक घोडाको माग गरे पनि केन्द्रले आवश्यक नपर्ने भन्दै आलटाल गरेको उनको गुनासो छ । रासस