भदौ ९ (रासस) सल्यान स्यानिखाल–४ की २३ वर्षीया सुनिता भण्डारीलाई अहिले दुईवटा छोराछोरी पढाउन र घरखर्च चलाउन समस्या परेको छ ।
तेह्र वर्षको उमेरमा विवाह गरेकी सुनिताका श्रीमानले कान्छी श्रीमती लिएर घर छाडेपछि उनलाई दैनिक गुजरा चलाउन धौ धौ परेको हो ।
“घर धान्नका लागि न पर्याप्त जग्गा छ न त कुनै पेसा नै”, उनले भनिन – “केटाकेटीलाई पढाउनुपर्छ भन्ने थाहा छ, तर स्कुल पठाउनका लागि कापी कलम र पोशाक किन्नलाई समेत पैसा छैन ।”
घरमा श्रीमान् हुँदासम्म कुनै समस्या नपरे पनि छाडेर गएपछि साँझ बिहानको छाक टार्नसमेत समस्या हुँदै आएको सुनिताले दुःखेसो पोखिन् ।
उनले घरको सामान्य खर्चसमेत चलाउन समस्या परेको बताइन् । श्रीमान् बुद्धिबहादुर भण्डारीले दाङको टरीगाँउबाट कान्छी श्रीमती बिहे गरेर चार वर्ष पहिले काठमाडौँ गएका र अहिलेसम्म घरमा कुनै पनि खबर नगरेको सुनिताले बताइन् ।
उनीसँगै अहिले नौ वर्षकी छोरी निरुता र सात वर्षका छोरा निरज छन् । सुनिता र बुद्धिबहादुरबीच २०५८ सालमा मागी विवाह भएको थियो ।
छोराछोरीसमेत भइसकेको अवस्थामा आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेर नर्फकनुको कारण बुझ्न नसकेको उनले बताइन् ।
आफूलाई जीवन निर्वाहका लागि सीपमूलक तालिम दिनसमेत कसैले सहयोग नगरेको उनको गुनासो छ ।