सोदिप थोप्रा लिम्बु - सबैलाई आफ्नो भाषा, साहित्य, कला र संस्कृति प्यारो लागे जस्तै हामी प्रबासमा बस्ने बेलायतबासी नेपालीहरुलाई पनि माया लाग्नु स्वाभाविकै हो । बेलायतबासी नेपालीहरुले नेपाल राष्ट्र गानका रचनाकार ब्याकुल माईला तथा चर्चित नेपाली गायिका पार्वती राईप्रति देखाएको सम्मानले यहि कुरोको प्रमाणित गरेको छ । तीन महिना बितिसक्दा पनि सम्मान कार्यक्रम समाप्त भएको छैन ।
सम्मानकै क्रममा नयाँ सन्देश साप्ताहिक आयोजक तथा सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टको सह - आयोजकत्वमा गत १ सेप्टेम्बर शनिबारका दिन स्थानीय साइमन चर्चको हलमा स्रष्टा सम्मान, समापन तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष पोपिराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राष्ट्रगानका रचनाकार ब्याकुल माईला रहेका थिए । अन्य अतिथिहरुमा लोकप्रिय गायिका पार्वती राई, डम्बर सिंगक लिम्बू, राम नारायण कङ्गदंगवा, प्रशन राई, चेत गुरुङ, युबराज गुरुङ, चण्डिराज राई, विजय हितांग, शिव राई, नरेश काम्माङ्ग, रक्ष राई, नरेन्द्र लिम्बू तथा कविराज घिसिङ रहेका थिए ।
समाजका उपाध्यक्ष श्रीमती बालकुमारी गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रमको संचालक समाजका सचिव शोभराज गुरुङले आकस्मिक घटना भई हालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए भने उपाध्यक्ष बाल कुमारी गुरुङले स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रममा भाषिक विचार गोष्ठीको संचालन आयोजकका तर्फबाट गणेश इजमले गरेका थिए भने बेलायतमा नेपाली भाषाको पठन पाठन व्यवस्था सम्बन्धि कार्यपत्र रक्ष राईले प्रस्तुत गरेका थिए । आयोजकका तर्फबाट नयाँ सन्देशका प्रधान सम्पादक अधिबक्ता चण्डिराज राईले कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै कार्यक्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा नेपाली भाषाको पठन पाठन सम्बन्धमा शोभराज गुरुङ, नरेश काम्माङ्ग, विजय हिताङ्ग, शिब राई, राम नारायण कङ्गदंगवा तथा भाष्कर तितुंग लगायतले आफ्ना सुझाब साथै विचार राखेका थिए ।
महिला कमिटिका सचिव बसुन्धरा राई नेयोङ्गले संचालन गरेको दोस्रो चरणको स्रष्टा सम्मान कार्यक्रममा समाजका अध्यक्ष पोपिराज राई र प्रमुख अतिथि ब्याकुल माईलाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा अतिथिको जीवनी समाजका महासचिव मोहन कृष्ण गुरुङले पढेर सुनाएका थिए भने समाजका वरिष्ठ उपाध्यक्ष श्री लिम्बूले स्वागत मन्तव्य दिएका थिए । समाजका तर्फबाट अध्यक्ष पोपिराज राई तथा महिला कमिटिका वरिष्ठ उपाध्यक्ष श्रीमती चन्द्रवती राईले प्रमुख अतिथि ब्याकुल माईला र नेपाली चर्चित गायिका पार्वती राईलाई प्रमाण पत्र सहित खादा ओढाई मायाको चिनो प्रदान गरेकी थिईन् । कार्यक्रममा संघ-संस्थाका प्रतिनिधि, आफन्तजन साथै कार्यक्रममा उपस्थित थुप्रै महानुभावहरुले पनि मायाको चिनो सहित खादा ओढाएर सम्मान गरेका थिए ।
नयाँ सन्देश साप्ताहिकका प्रधान सम्पादक अधिवक्ता चण्डीराज राईले भाषा, साहित्य, कला तथा संस्कृति नै मानिसको पहिचान भएकोले त्यसको संरक्षण र संवर्धन गर्न सकिएन भने पहिचान नै नरहने भएकोले बेलायतमा नेपालीको पहिचानको लागि नेपाली भाषाको पठन पाठनको व्यबस्थाको माग गर्न सबै मिलेर पहल गर्नु पर्ने मन्तब्य ब्यक्त गरेका थिए ।
स्रष्टा ब्याकुल माईलाले बेलायतबासी नेपालीहरुको आफ्नो भाषा, साहित्य, कला र संस्कृतिप्रतिको अपार माया देखेर खुशी लागेको र यो कुरा आउने पिढीलाई पनि सिकाउँदै लैजानु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सोहीदिन समाजका विभिन्न व्यक्तिहरुलाई प्रमुख अतिथिको हातबाट प्रमाण पत्र पनि बितरण गरियो । गायिका पार्वती राईले पनि थुप्रै व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।
तेस्रो चरणको संस्कृतिक कार्यक्रममा चर्चित नेपाली गायिका पार्वती राईले आफ्नो चर्चित गीत "खोटांग हलेसी", "छोडी जाने", "सम्झी बस्नेलाई हुँदो रहेछ गाह्रो", "यो मनको तिर्सना सक्दिन बिर्सन" लगायत नयाँ तथा पुराना थुप्रै गीतहरु गएर दर्शक स्रोताहरुलाई नचाउँदै भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् । स्थानीय कलाकारहरु दौलत राई र जानुका पुनको गीतहरुले पनि दर्शकहरुलाई उत्तिकै मनोरञ्जन दिएको थियो । त्यसैगरी पुष्पा तामाङ र शसी गुरुङको मनमोहक नृत्यले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो । कार्यक्रममा साना नानीहरुको रोचक नृत्य र कार्यक्रममा बाचन गरिएको कबिताहरुले पनि दर्शकहरुको मन जितेको थियो । कार्यक्रमको संचालन समाजका संस्कृतिक सचिव गंगाराज राईले गरेका थिए ।